Sajhamanch Archive

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित

Published: in विविधा, समाज by .

विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् ।

सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा आज ३० औं संस्करणको मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा गत वर्ष राज्यपक्षबाट ४७ जना पीडित भएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनुभयो । उहाँका अनुसार सन् २०२० मा प्रदेश १ मा ८ सय १३ जना पीडित भएको इन्सेक अभिलेखमा छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा १ सय ६ जना बढी मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी ३, कुटपिट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु २, घाइते १२, हत्या ६७, जातीय विभेद १, धम्की ४, यातना १, महिला ४६८ र कारागारमा मृत्यु ७ गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताउनुभयो । सन् २०२१ मा प्रदेश १ मा महिला अधिकारका घटनामा ४ सय ६८ जना पीडित भएको उहाँले बताउनुभयो । गत वर्ष ३ सय २५ जना पीडित भएको इन्सेक अभिलेखमा छ । सन् २०२१ मा बाल अधिकारका घटनामा ३ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ । यो वर्ष प्रदेश १ का कूल १ सय ३७ स्थानीय तहमध्ये आठ स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन् । इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी ३६ जना पीडित भएका घटना भएको अधिकारीले बताउनुभयो । बर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा झापाका नरेश खातीलाई नगद ७ हजार सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश तिलप्रसाद श्रेष्ठ, मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु गड्तौला, पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष संजीव खनाल लगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *