Sajhamanch Archive

नेपाली सेनाले सुरु गर्यो मेलम्चीका ढुङ्गा फुटाउन

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।

आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो ।

सेनाले ठूला ठूला ढुङ्गामा ‘ड्रिल’ गरी त्यसभित्र विस्फोटक पदार्थ पठाएर ढुङ्गा फुटाउने काम भइरहेको छ । मुहान सफाइमा माथिल्लो तहमा गिटीबालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएका छन् ।

प्रवक्ता पन्तले ढुङ्गा फुटाउने काम कहिलेसम्म सकिन्छ भन्ने विषय ढुङ्गा कति निस्किन्छ त्यसमा भर पर्ने बताए । अहिले मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा टिप्पर प्रयोग गरेर काम भइरहेको छ ।

आगामी सातासम्म मुहान सफाइको काम सम्पन्न गरिसक्ने भनाइ प्रवक्ता पन्तको छ । सरकारले चैतभित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *