Sajhamanch Archive

ओली निवास बालकोटमा कांँग्रेस र एमालेका शीर्ष नेताबीच बार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सत्तारुढ नेपाली कांँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा वार्ता सुरु भएको छ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच दुवै दलका अन्य शीर्ष नेताहरुसहित निर्णायक वार्ता अघि बढेको हो। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन्।

अबको दुई दिनमा अमेरिकी सहायता परियोजना एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिमा सम्भावित खाका तय गर्नका लागि पहिले नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए।

बालकोट वार्तामा जुटेका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली

देउवासहित एमालेसँग वार्ताका लागि सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि अहिले बालकोटमा छन्। त्यस्तै एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।

कार्कीले देउवाभन्दा आधा घण्टाअघि बालकोट पुगेर ओली र एमालेका अन्य शीर्ष नेताहरुसँग संवाद गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने कार्कीलाई देउवाले पहिले नै बालकोट पठाएर सहमतिको सम्भावित खाकाको लागि छलफल गर्न लगाएका हुन्।

बिहीबार भएको एमाले र कांँग्रेस नेतृत्वको दुई चरणको वार्तामा राष्ट्रपतिको प्रसंग निस्किएको थियो। ओलीसहित एमाले नेताहरूसँगको वार्तामा देउवाले एमसीसी पारितका राष्ट्रपति विद्यादेवी भण्डारीको रोहबरमा सहमति गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ।

तर, बिहीबारका दुई चरणका वार्ता सफल नभएपछि देउवाले शुक्रबार सत्तारुढ गठबन्धनकै दुई नेतासँग बालुवाटारमा वार्ता गरेका थिए।

शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता गरेका देउवाले अपरान्ह माओवादी अध्यक्ष दाहालसँग कुरा गरेका थिए। दुई नेताबीचको कुराकानीका क्रममा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए।

एमसीसीलाई निर्णायक रुपमा संसदबाट पास गर्ने तयारीमा रहेका देउवा गठबन्धनकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मत दिने निर्णय गरेपछि समस्यामा छन्। शुक्रबारको कोसिसमा पनि गठबन्धनमा सहमति नभएपछि देउवाले फेरि एमालेसँग संवाद अघि बढाएका हुन्।

बिहीबारको वार्तामा एमालेले एमसीसीमा कांँग्रेसलाई साथ दिन सकिने तर सभामुख हटाउनुपर्ने, माधव नेपालसहितका १४ सांसदको पद खारेज हुनुपर्ने र गठबन्धन भत्किनुपर्ने सर्त राखेपछि प्रधानमन्त्री देउवाले फेरि गठबन्धनमै छलफल गरेका थिए।

बिहीबार नै भत्किएको भनिएको गठबन्धनलाई जोगाएर एमसीसी पास गर्ने योजनासहित देउवाले छलफल गरेका थिए। तर, माओवादी र समाजवादीले यथाअवस्थामा एमसीसी पास गर्न खोजिए कि त विपक्षमा मतदान गर्ने कि त संसद बहिष्कार गर्ने अडान लिएका छन्।

बिहीबार एमालेसँग भएको छलफलमा सहभागी कांँग्रेसका एक नेताका अनुसार वार्ताका क्रममा एमालेले कांँग्रेससामु ती वटा शर्त राखेको थियो ती शर्तहरु थिए–एमाले संसदमा उपस्थित हुन वातावरण सिर्जना गर्ने, आगामी मंसिरअघि नै संघीय निर्वाचनमा जाने र एक्ला–एक्लै प्रतिष्पर्धामा उत्रिने।

तर, ओलीको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक भए पनि कांँग्रेस ढुक्क भएका थिएनन्। यसैलाई बालकोट वार्ताले अन्तिम रुप दिन सक्ने पनि सम्भावना रहेको छ।

‘कांँग्रेस र एमालेबीच सहमति गरेर जाने सैद्धान्तिक सहमति भइसकेको अवस्था हो। ओलीले केही शर्त राख्नुभएको थियो,’ ती नेताले भनेका थिए, तर, कांँग्रेस ढुक्क छैन। प्रधानमन्त्रीले राष्ट्रपतिसँगै राखेर ‘अन्डरस्ट्यान्डिङ’ गर्न खोज्नुभएको छ।’

यसैबीच शुक्रबार अपरान्ह दाहालसँग भएको वार्तामा देउवाले एमसीसीको पक्ष वा विपक्ष कतातिर उभिने औपचारिक निर्णय गर्न भनेका छन्।

माओवादीले संसदको अंकगणित मिलाएर गठबन्धन जोगाउन सकिने बताएपछि देउवाले यसबारे औपचारिक निर्णय लिएर कित्ता क्लियर गर्न भनेको स्रोतले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *