Sajhamanch Archive

विराट बहुउद्देश्यीयको कारोबार, खुद नाफासँगै सामाजिक अग्रसरतामा वर्षेनी वृद्धि हुँदै

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाका सहकारी संस्थाहरु बिस्तारै शेयर सदस्यहरुको अभिभावकत्व ग्रहण गर्न अग्रसर हुन थालेका छन् । सहकारी संस्थाहरुले वित्तीय कारोबारलाई प्राथमिकता दिँदै आएको पृष्ठभूमिलाई नियाल्दा अहिले बिस्तारै सदस्यको सेवा तथा सुविधा एवम् सामाजिक अभियानमा अग्रसरता देखाउने गरेको पाइएको छ ।

यस्तै अग्रसरता देखाउँदै बिर्तामोड नगरपालिका ३, सैनिकमोडमा मुख्य कार्यालय रहेको विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि चालू वर्षदेखि सामाजिक सेवा तथा सदस्यको सुविधामा बृद्धि गर्ने तयारी गरेको छ ।

बिहीबार आयोजना गरिएको संस्थाको १३औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन शिवाकोटीले सहकारीले पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर अघि बढेको बताउँदै चालू वर्षदेखिनै कार्यान्वयनमा ल्याइने केही नयाँ योजना सार्वजनिक गरे ।

साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष शिवाकोटीले सदस्य स्वास्थ्य उपचार कोषमा रकम वृद्धि गरी सोको व्याजबाट क्यान्सर, मिर्गौला, ब्रेन ट्युमर, मुटुरोग तथा दूर्घटनालगायतका कारणबाट अङ्गभङ्ग भएर वा अन्य रोगका कारण मेजर अपरेशन गर्नुपर्ने भएमा ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गर्ने जानकारी दिए । सो कोषमा हाल ३५ लाख ३६ हजार रहेकोमा यसैवर्ष ५० लाख रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।

यसैगरी, संस्थामा १० हजार रुपैयाँभन्दा बढी शेयर रहेका तथा नियमित एवम् सक्रिया कारोबार गर्ने तर विपन्न ३० घरपरिवारका सदस्यहरुलाई राज्यले अघि सारेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराई २५ सय रुपैयाँका दरले बीमा गरिदिने प्रस्ताव पनि गरिएको छ ।

यसैगरी संस्थाको साधारणले तोकेअनुसारको शेयर खरिद गरेका महिला शेयर सदस्यहरु सुत्केरी भएमा चालू आर्थिक वर्षमा १० जनालाई पाँच हजार रुपैयाँका दरले सुत्केरी पोषण खर्च प्रदान गर्ने पनि साधारणसभामा प्रस्ताव लगिने भएको छ ।

संस्था स्थापना भएको १२ वर्ष पछि पाँचतले व्यावसायिक भवन निर्माण गर्ने योजनासहित साधारणसभाको अवसरमा सो को शिलान्यास गर्नेसमेत तयारी रहेको संस्थाका सचिव रुद्र सिटौलाले पत्रकार सम्मेलनमा बताए ।

साधारणसभाको उद्घाटन तथा भवनको निर्माणको शिलान्यास एक नम्बर प्रदेशसभाका सदस्य एकराज कार्कीले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

संस्थाले यसैवर्ष सैनिकमोड नजिकै खरिद गरेको एक कट्ठा जमिनमा बहुउद्देश्यीय भवन निर्माण गरिने सचिव सिटौलाले जानकारी दिए ।

पाँचतले भवन बनाउने योजना रहेको भए पनि चालू आर्थिक वर्षमा भवनको ३ तला पूरा गर्ने लक्ष्य रहेको संस्थाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले बताए ।

सो भवनको भूइँतलामा प्राङ्गारिक तरकारी पसल, खाद्य बस्तुहरुको सुपथ मूल्य पसल सञ्चालन गरिने, दोस्रो तलामा संस्थाको वित्तीय कारोबार स्थलसहित मुख्य कार्यालय रहने र तेस्रो तलामा सहकारी सिकार्इ केन्द्रसहितको तालिम हल बनाउने गरी भवन निर्माणको खाका निर्धारण गरिएको उपाध्यक्ष सिटौलाले बताए ।

भवन निर्माण समितिका संयोजक सिटौलाले चालू वर्षमा नै निर्माण सम्पन्न गर्ने योजना रहेको तीन तल्ले भवनका लागि लगभग डेढ करोड रुपैयाँको लागत अनुमान गरिएको पनि जानकारी दिए ।

२०६३ सालमा स्थापित विराट बचत तथा ऋण सहकारी संस्थासँग तीन वर्ष पहिले विराट कामधेनु महिला कृषि सहकारी संस्था एकीकृत भई बहुउद्देश्यीय सहकारीमा रुपान्तरण भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्ममा २ हजार ६७४ जना शेयर सदस्य संख्या पुर्याएको छ भने शेयर पूँजी ५ करोड नौ लाख ८६ हजार रुपैयाँ पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तमा संस्थासँग १७ करोड ३१ लाख ४१ हजार ५१४ रुपैयाँ निक्षेप मौज्दात रहेको, १८ करोड ४२ लाख ४६ हजार ५३९ रुपैयाँ कर्जा लगानीमा रहेको तथा आर्थिक वर्ष २०७४/०७५मा २३ करोड ८६ लाख ६ हजार ३९९ रुपैयाँको कारोबार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आर्थिक वर्षमा ४१ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७४/०७५ सम्म शेयर सदस्यता लिएका सदस्यहरुका लागि १८ प्रतिशत शेयर लाभांस प्रदान गर्ने गरी साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।

संस्थाले विगत वर्षहरुमा झै यसवर्ष पनि बचत तथा कर्जा फाँटका उत्कृष्ट कारोबारी सदस्यहरु दुईजना सदस्यलाई पाँच हजार एक रुपैयाँ प्रदान गरी सम्मान गर्ने भएको छ ।

यसैगरी, गत एसईई परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी भई उत्कृष्ट अंक प्राप्त गर्ने दुई छात्र र दुई छात्रा गरी चार जनालाई पनि जनही ५ हजार एक रुपैयाँ प्रदान गरी प्रोत्साहन गरिने भएको छ ।

यस्तै, पत्रकारिताको माध्यमबाट सहकारी अभियानलाई प्रवद्र्धन गरेकोमा साझामञ्च डट कम अनलाइन डिजिटल न्यूजपोर्टलका सम्पादक गोपाल काफ्लेलाई नगद ५ हजार एक रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष शिवाकोटीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *