Sajhamanch Archive

अधिकांश टेस्टट्युब बेबी सेवा इजाजत नै नलिइ सञ्चालनमा, प्रसूति गृह र नर्भिकको मात्र संचालन इजाजत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं, नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेको तथ्य फेला परेको छ।

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्।

जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजाजत लिएर सञ्चालन हुनुपर्ने यी सेन्टर तथा संस्थाहरु बिना इजाजत नै चलिरहेको तथ्य फेला परेको हो।

हालको मौजुदा कानुन अनुसार प्रसूति गृह र नर्भिकबाहेक नेपालभर चलेका आइभिएफ सेन्टरले मन्त्रालयबाट इजाजत लिएका छैनन् महाशाखाका प्रमुख डा. मदन उपाध्यायले भने, यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

यसमा हामीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं। सञ्चालन स्वीकृत नै नलिई निसन्तान दम्पतीको उपचारका नाममा गैरकानुनी रुपमा टेस्टट्यूब बेबी अर्थात ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्दै आएका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले लाखौं शुल्क लिँदै ठगी गर्दै आएका विषयमा पनि बाहिर आएका छन्।

मन्त्रालयबाट इजाजत नै नलिइ टेस्टट्युब बेबी सेवा सञ्चालन गर्नेमा वात्सल्य नेचुरल आईभीएफ प्राली, ओम अस्पताल, अल्का अस्पताल, भेनस अस्पताल, ग्रिनसिटी अस्पताल, ग्रान्डी सिटी अस्पताल, ग्रान्डी अस्पताल, क्रियटर्स आईभीएफ नेपाल, वरदान फर्टिलिटी सेन्टर, काठमाडौं फर्टिलिटी सेन्टर, माया आईभीएफ क्लिनीक, नेपाल इन्टरनेसनल फर्टिलिटी एन्ड ल्याप्रोस्कोपिक सेन्टर, डेनिस आईभीएफ सेन्टर, सञ्जीबनी अस्पताल, पोखरा फर्टिलिटी क्लिनीक, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर लगायत रहेका छन्।

जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेन्टर सञ्चालन गर्ने सेन्टरसँग स्त्रीरोग सेवा, बहिरंग सेवा, प्रोगशाला शुक्रकिट परीक्षण सहित, यूएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला, आकस्मिक सेवाका लागि कुनै एक अस्पतालसँगको सम्झौता गरेको लगायतका मापदण्ड पुरा गरेको हुनुपर्दछ।

टेस्टट्युब बेबी सेवाका विषयमा अनुगमन गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ। पानबहादुर क्षेत्रीको संयोजकत्वमा रहेको समितिमा एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एक जना प्याथोलोजिष्ट सदस्य रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *