Sajhamanch Archive

नेप्से ४३.१० प्रतिशतले घट्यो, दुइ जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ। आज पूँजी बजार मापन परिसूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० बिन्दूमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से ७.७३ अंकले घटेको थियो।

यसैगरी, आज ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ सूचक पनि घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज यस्तो सूचक मापन गर्ने परिसूचक ६.६४ अंकले घटेर ५००.२१ बिन्दूमा झरेको छ। आज कारोबार रमक भने साताको पहिलो कारोबार दिन आइतबारको भन्दा केहि सुधार भएको छ।

आइतबार तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेमा आज तीन अर्ब ६६ करोड एक लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर ५४ हजार १२१ पटक कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ समूहमा सबै समूहको उपसूचक घटेको नेप्सेले जानकारी दिएको छ। आज सबैभन्दा धेरै जलविद्युत कम्पनी उपसमूहका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। यस समूहका लगानीकर्ताले आज आफ्नो सेयर मूल्यको ३.०९ प्रतिशत मूल्य गुमाएका छन्।

यसैगरी ट्रेडिङ समूहका लगानीकर्ताले २.९५ प्रतिशत, निर्जीवन बीमा कम्पनीका लगानीकर्ताले २.२५ प्रतिशत र इन्भेष्टमेन्ट समूह तर्फका लगानीकर्ताले आफ्ना सेयरको २.१७ प्रतिशतको दरले आफ्नो सेयर मूल्य गुमाएको नेप्सेले जानकारी दिएको छ।

आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सामलिङ पावर कम्पनी र तेह्थुम पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसैगरी दिव्यासोरी जलविद्युत कम्पनीको सेयर मूल्य पनि ५.५५ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *