पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]
Published:
by .अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ। नेता नारायणकाजी श्रेष्ठ र उनीनिकट नेताहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका छन्।
एमसीसी अनुमोदन र तपाईंको पार्टीका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि तपाईंहरु नयाँ पार्टी बनाउन थाल्नु भएको हो?
पहिलो कुरा हामी त्यो दिशामा छैनौं। प्रतिगमन विरुद्धको आन्दोलनमा संघर्ष गरेर अगाडि बढिरहेको पृष्ठभूमिमा पाँच दलीय मोर्चा हुँदै यहाँसम्म आइपुगेका छौं। संयुक्त सरकार बन्दा पनि न्यूनतम साझा कार्यक्रम बनाउँदा एमसीसी पारित गर्ने विषय थिएन। हाम्रो पार्टीको महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने निर्णय गरेको थियो। त्यो पृष्ठभूमिमा एमसीसी पास गर्ने खालको कुरा आएपछि आफ्नो विवेकले विपक्षमा गएका हौं। राष्ट्रियता र लोकतान्त्रिक आन्दोलन एक अर्कासँग गाँसिएका हुन्छन्।
अहिले आएको विषय राष्ट्रियताको सवालमा रणनीतिक नै लागेको छ। त्यसैले पार्टीले ह्वीप जारी गर्नुपर्ने विषय नै थिएन। त्यसैले आफ्नो कुरा सार्वभौम अभ्यास हुने संसदमा राखेको हो। त्यो खुलै कुरा छ। पार्टीमा पनि सिनियर लिडरहरुको टोलीले यो बारेमा संसदबाट उधारो खालको व्याख्यात्मक घोषणा गरेर पारित गर्ने कुरामा विमति नै राख्नुभएको थियो। नारायणकाजी कमरेडले एमसीसी पारियोजनाको विपक्षमा सार्वजनिक रुपमा नै बोल्नु भएको थियो। अध्यक्ष प्रचण्ड कमरेडले भनेका विषयका सन्दर्भमा पार्टीको २० गते बैठक छ। पार्टीको बैठकमा आफ्नो कुरा राख्ने भन्ने हुन्छ। प्रचण्ड कमरेड मतभेदप्रति त्यति सहिष्णु देखिनु भएन भन्ने लाग्छ। अहिले यत्ति मात्रै भन्छु।
अध्यक्षले नारायणकाजी श्रेष्ठलाई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिनु भयो। यस्तो अवस्थामा सँगै बस्न सकिन्छ?
अहिले सबै कमरेडहरुले आफूलाई लागेका कुरा, आफ्ना विवेकका कुरा गरिरहनु भएको छ। यी कुराहरु सामूहिक ढंगले छलफल गरेर भनिएका होइनन्। कतिपयले पार्टी छोड्छु भन्नु भएको छ। पार्टीमा थुप्रै प्रकारका विषयहरु उठेका छन्। त्यसलाई कसरी ग्रहण गर्ने महत्त्वपूर्ण विषय हो। यस्तो अप्ठ्यारो बेलामा लिडरसिपले भिन्न मतप्रति रुखो प्रस्तुति दिनुभयो। अरु विषयमा पनि बोल्नु भएको छ। यो समीक्षाको विषय हो।
कमरेड प्रचण्ड बदलिँदा अरुलाई बदल्न र रुपान्तरण गर्न सकिन्छ भन्ने लगातार भनिरहिएको छ। हाम्रो पार्टीको आठौं महाधिवेशनमा अध्यक्षले थुप्रै विषय राख्नु भएको छ। उहाँले आफ्नो कार्यशैली विगतमा पनि खुलस्त नभएको कुरा राख्नुभएको छ। अहिले उहाँ महाधिवेशनमा व्यक्त भएको विषयमा जानु भयो कि भएन भन्ने प्रश्न उठि नै हाल्छ।
यो विवाद अब सामान्य रुपमा हल हुन्छ भन्ने विश्वास छ?
अरु सामान्य घटना जस्तो विषय होइन। यो राष्ट्रियतासँग जोडिएको विषय हो। दुई शक्तिशाली मुलुकको बीचमा छौं। पञ्चशील र असंलग्न नीति छ। सित्तैमा अनुदानै भएपनि लिनुहुन्छ कि हुँदैन अर्को प्रश्न छ। यस्तो भूराजनीति जोडिएको देशमा यो विषय सामान्य होइन। यो सामान्य हो भन्ने ढंगले बुझ्नु हुँदैन।
नेपाल लाइभ
Comments