पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका(६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका(८ का २४ वर्षीय राजेन्द्र सिन छन् । उनीहरूले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षाय अमोल भोस्लेमाथि लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेमाथि उनीहरूले लुटपाट गरेका हुन् ।
उनकाअनुसार भारतीय नागरिक भोस्ले सवार स्कुटर रोकेर आएका अपरिचित व्यक्तिहरूले आँखामा खुर्सानीको धुलो छर्केर, कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटेर फरार रहेको प्रहरीलाई प्रारम्भिक सूचना प्राप्त भएको थियो ।
सूचनापछि महानगरीय प्रहरी वृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालित गराई मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाडौंस्थित सम्पूणर् प्रहरी कार्यालयहरूलाई सतर्क गराउँदै लुटेराहरू काठमाडौं बाहिर जानसक्ने नाकाहरूमा चेकजाँचको व्यवस्था मिलाइएको एसपी मैनालीले बताए ।
अनुसन्धानकै क्रममा डकैतीमा संलग्न व्यक्तिहरू तीन दिनदेखि घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर योजना बनाएर पीडित घटनास्थलमा अइपुग्नासाथ योजनाबद्ध तवरले आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी निजको साथमा रहेको सुन तथा नगदसहितको झोला डकैती गरेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महेश विश्वकर्माको साथबाट घटनामा प्रयोग भएको बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र नगद ६६ हजार बरामद भएको छ । राजेन्द्र सिनलाई जिल्ला प्रहरी कार्यालय, दाङको सहयोगमा दाङबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको हो । उनको साथबाट घटनामा प्रयोग भएको रा ४ प ११२० नम्बरको मोटरसाइकल र सुन जस्तो देखिने पहेंलो धातु २६१ ग्राम, एक लाख रुपैयाँ, धारिलो हतियार खुडा बरामद भएको छ ।
उनको साथबाट उच्च अदालत तुलसीपुरवाट जारी भएको तारेख पुर्जी, राजेन्द्र सिन नामको नागरिकता प्रमाण(पत्र र नम्बर नखुलेको सिमकार्ड, राजेन्द्र सिनको नाममा रहेको चेक बुक थानसमेत बरामद गरिएको एसपी मैनालीले जानकारी दिए । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा काठमाडौं जिल्ला अदलातबाट ५ दिनको म्याद थप गरिएको छ ।
Comments