Sajhamanch Archive

आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by .

जनकपुर, नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरुमा मनाउने प्रचलन छ।

पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ को रुपमा यो पर्वलाई चिनिन्छ।

कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ। यसअघिका दुई वर्ष कोरोना संक्रमणाको कारण होली पर्व खल्लो भएको थियो।

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउँन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो।

मिथिला मध्यमा परिक्रमाका क्रममा दुई दिनसम्म जनकपुरधाममा मासु तथा मदिराको विक्री वितरण र सेवनमा निषेध गरिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *