Sajhamanch Archive

विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

कपिलवस्तु, विप्लवले चुनावमा भाग लिने, माओनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा भाग लिने तयारी गरेको छ।

शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावमा जाने विषयमा अधिकांश नेताहरुले सहमति जनाएका छन्।

महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चुनाव उपयोग गर्ने नीति अनुरुप स्थानीय चुनावमा भाग लिने उल्लेख गरेको एक केन्द्रीय सदस्यले बताए। त्यसमा अधिकांश नेताहरूले सहमति जनाएका छन्।

स्थानीय चुनावमा माओवादी केन्द्रसँगै तालमेल गरेर जानु पर्ने नेताहरुले धारणा राखेका छन्। उनीहरूले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि चुनावी तालमेल गर्ने सकिने बताएका छन्।

‘आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महासचिवको प्रतिवेदनमा स्थानीय चुनाव उपयोग गर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ।

बैठकमा अधिकांश नेताहरुले धारणा राख्ने क्रममा चुनावमा जानुपर्छ भन्ने मत राख्नु भएको छ’, ती केन्द्रीय सदस्यले भने, केही नेताहरुले चुनावमा जानु हुन्न भन्ने मत पनि राख्नु भयो। त्यो मत सानो छ। छलफल गर्दै जाँदा बहुमत केन्द्रीय सदस्य चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ।’

चुनावमा जाने विषयमा पार्टी एकढिक्का हुने ती केन्द्रीय सदस्यले दाबी गरे। ‘पार्टी चुनावमा नगए नेतारकार्यकर्ता नै जोगाउन मुस्किल छ।

सबै आ–आफ्नो हैसियतले भ्याएसम्म वडा, पालिका र प्रदेशमा चुनाव लड्ने तयारी गरेका छन्’, ती केन्द्रीय सदस्यले भने, ‘हामीले पार्टी बलियो बनाउनु पर्छ भन्दा परिस्थिति अर्कोतिर जाने देखियो। जेलमा परेका नेता कार्यकर्ता नछुट्ने परिस्थिति बन्ने भयो। त्यसैले चुनाव उपयोग गर्ने भन्ने छ।’

स्थानीय चुनाव उपयोग गर्ने नीति अनुरुप विप्लवले यसअघि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेटेका थिए। तर, विप्लवको प्रस्ताव वैद्यले ठाडै अस्वीकार गरेका थिए।

वैद्य स्थानीय चुनाव बहिस्कार गर्नुपर्ने निर्णयमा पुगेपछि विप्लव चाहिँ माओवादीसहित एकीकृत समाजवादी र जसपासँग तोलमेल गर्ने मनिस्थितिमा पुगेको बताएको छ। यद्यपि, उनको पार्टी निर्वाचनमा आयोगमा दर्ता भएको छैन।

त्यसो हुँदा नेकपाले अन्य कुनै पार्टीको चुनाव चिह्न लिएर सोही पार्टीको उम्मेदवारका रुपमा चुनाव लड्नुपर्नेछ।

नेकपाको सचिवालयमा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य सन्तोष बुढामगर चुनावमा भाग लिनुपर्छ भन्नेमा दृढ देखिएका छन्।

सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली चुनावको विपक्षमा भएपनि सबै केन्द्रीय सदस्यको धारणा बुझेपछि मात्रै निर्णय गर्नु पर्ने योजनामा छन्। तर, अधिकांश केन्द्रीय सदस्य भने माओवादी केन्द्रलगायतका दलसँग चुनावी तालमेल गरेर जानु पर्ने पक्षमा छन्।

महरासँगको भेटपछि बद्‌लिए विप्लव

नेकपाको केन्द्रीय समिति बैठकअघि विप्लवलाई भेट्न माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा विप्लवको घर शिवगढी पुगेका थिए। त्यहाँ उनीहरूबीच लामै कुराकानी भयो।

आगामी स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा महराले प्रस्ताव गरेपछि विप्लवले कति सिटमा गर्ने भन्दै चासो देखाए।

जवाफमा महराले बैठकबाट चुनावमा जाने नीति पारित गरेपछि सिट संख्या मिलाउन सकिने बताएका नेकपाका अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए।

महरा–विप्लव भेटलगत्तै सुरु भएको केन्द्रीय समिति बैठकमा उनले चुनावमा जाने विषय प्रतिवेदनमै उल्लेख गरेका हुन्।

विप्लवका दाजुको निधन हुँदा समेत महरा विप्लवलाई भेट्न शिवगढी नै पुगेका थिए। विद्यालय तहमा महराले विप्लवलाई पढाएका हुनाले दुवै नेतावीच गुरु–चेलाको सम्बन्ध छ।

गत मंसिर ४ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित महरा, विप्लव र खड्गबहादुर विश्वकर्माबीच कार्यनीतिक रुपमा एकठाउँ उभिने विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले बताए।

त्यसले पनि विप्लवलाई चुनाव उपयोग गर्नुपर्छ भन्नेमा पुर्‍याएको उनको बुझाई छ। प्रचण्ड कमरेडसँगको भेटमा माओवादी धाराहरु एक ठाउँमा आउनुपर्छ भन्ने विषयमा छलफल भएको थियो।

त्यसमा कार्यनीतिक रुपमा एक ठाउँमा आउने वातावारण बनाउनु पर्छ भन्ने भयो’, मल्लले भने, ‘अब स्थानीय चुनावमा माओवादीसँग तालमेल गरेर जाने विषयमा उहाँहरुले निर्णय गरेमा कुनै समस्या हुँदैन। यसको वातावरण बन्दै गएको छ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *