Sajhamanch Archive

गुणले ३ वटा एटीआर जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउने

Published: (Updated: ) in अर्थतन्त्र, by .

काठमाडौं । व्यावसायिक प्रतिस्पर्धा बढाउनका लागि गुण एयरलाइन्सले एकै पटक ३ वटा एटीआर जहाज ल्याउने भएको छ ।

जेटस्ट्रिम र विचक्राफ्टमार्फत उडान गर्दै आएको गुणले एकै पटक ३ एटीआर जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिदका लागि सञ्चालक समितिको बैठकले निर्णय गरेर आवश्यक प्रक्रियासमेत अघि बढाइसकेको एयरलाइन्सका प्रवक्ता प्रज्ज्वलजंग थापाले जानकारी दिए ।

अवस्था राम्रो हुँदै गएमा सन् २०२३ को अन्तिमसम्ममा एटीआर जहाज ल्याइसक्ने र २०२४ को जनवरीदेखि व्यवसायिक उडान थाल्ने योजना रहेको उनले बताए ।

जहाज खरिदका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमतिको प्रक्रिया सुरु भइसकेको थापाको भनाइ छ । कम्पनीले जहाज खरिदको मूल्य खुलाउन नचाहे पनि एउटा एटीआरको मूल्य ३५ देखि ४० करोड रुपैयाँ पर्छ ।

पछिल्लो समय आन्तरिक उडानमा रहेका अधिकांश एयरलाइन्सहरुले एटीआर जहाजमार्फत उडान गरिरहेका बेला गुणले पनि ३ वटा जहाज ल्याएर गन्तव्य र बजारहिस्सा बढाउन लागेको प्रवक्ता थापाले बताए ।

एटीआर जहाज ल्याएपछि अहिले भएका गन्तव्यमा उडान संख्या बढाउने र प्रादेशिक उडानलाई पनि तीव्रता दिने योजना कम्पनीको रहेको छ ।

अहिले गुण एयरलाइन्स पोखरा, भरतपुर (चितवन), तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज र सुर्खेतमा उडान भर्दै आएको छ ।

सहज र सरल उडानमार्फत यात्रुहरुलाई सेवा दिन एयरलाइन्सले अहिले ३० सिटे ५ वटा जेटस्ट्रिम र १८ सिटे २ वटा विचक्राफ्टमार्फत उडान भर्दै आएको छ ।

सन् २००९ मा स्थापना भएको सो एयरलाइन्स २०१३ मा सिम्रिक एयरसँग गाभिएर उडान सुरु गरेको थियो ।

गुण ग्रुपमार्फत शाक्यले गुण कोलोनी, गुण सिनेमा, गुण ज्वेलरी, गुण कोपरेटिभ, नेपाल फाइनान्स, सनसाइन अपार्टमेन्ट, डेज इन होटल, किस्ट मेडिकल कलेज,गुण इन्टरप्राइजेज, हिरो मोटरसाइकल, दरबारमललगायत दर्जनौं क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *