Sajhamanch Archive

आन्द्रालाई शरिरको दोस्रो मस्तिष्क किन भनिन्छ ?

Published: in स्वास्थ्य by .

मानिसको शरिरमा आन्द्रालाई ‘दोस्रो मस्तिष्क’ भनिन्छ । यसमा न्यूरोन हुन्छ र यसले शरिरको सेन्ट्रल नर्भस सिस्टम (केन्द्रीय तन्त्रिका तन्त्र) भन्दा भिन्न काम गर्छ ।

आन्द्राको जटिल कामले हाम्रो स्वास्थ्यलाई प्रभावित गर्छ । डाक्टरका अनुसार हाम्रो पाचन प्रणालीले खाना पचाउनुबाहेक अन्य थुप्रै काम गर्छ । डाक्टरहरुले  यसको मद्दतले दिमागी रोग र प्रतिरक्षा प्रणालीसँग सम्बन्धित रोगको उपचार गर्न सकिन्छ वा सकिँदैन भनेर अनुसन्धान गरिरहेका छन् ।

आन्द्रासँग जोडिएका आवश्यक तथ्यलाई बुझ्नका लागि बीबीसीले आन्द्राका जानकार अष्ट्रेलियाली डाक्टर मेगन रासीसँग कुराकानी गरेको छ । उनले यसबारे निकै रोचक तथ्य जानकारी दिएकी छिन् ।

डाक्टर रासी भन्छिन्, ‘हाम्रो शरिरको बाँकी अंगभन्दा फरक, आन्द्राले एक्लै काम गर्छ । अर्थात्, यसको कार्यप्रणाली कुनै अन्य प्रणालीबाट प्रभावित हुँदैन । यसले काम गर्न मानव मस्तिष्कबाट निर्देशनको आवश्यकता पर्दैन ।’

आन्द्राको नियन्त्रण आन्तरिक तन्त्रिका तन्त्रले गर्छ । यो एक स्वतन्त्र तन्त्रिका हो जसको कामकाज केन्द्रीय तन्त्रिका तन्त्रभन्दा निकै भिन्न हुन्छ । यो सिधा रुपमा पाचन प्रणालीका लागि जिम्मेवार हुन्छ ।

यो तन्त्रिका तन्त्र तन्तुमार्फत पूरा पेट र पाचन प्रणालीमा फैलिएको हुन्छ । साथै यसको आफ्नो तन्त्रिका सर्किट हुन्छ । यद्यपी,  यो तन्त्रिका केन्द्रीय तन्त्रिकासँग सम्पर्कमा रहन्छ ।

व्यक्तिको रोग प्रतिरोधक क्षमताका लागि आन्द्राको भूमिका निकै महत्वपूर्ण हुन्छ । रोग प्रतिरोधी प्रणालीको ७० प्रतिशत कोशिका आन्द्रामा नै हुन्छ ।

जानकारका अनुसार सबैभन्दा ताजा शोधले यदि व्यक्तिलाई आन्द्राको कुनै समस्या छ भने उनीहरु फ्लूजस्तो सामान्य रोगको पनि निकै सजिलै शिकार हुने बताउँछ ।

दिसामा हुन्छ ५० प्रतिशत ब्याक्टेरियाः

दिसामा लगभग ५० प्रतिशत ब्याक्टेरिया हुन्छ । यो ब्याक्टेरिया फाइदाजनक हुन्छ । डाक्टर रासी भन्छिन्, ‘शोध भन्छ कि एक स्वस्थ व्यक्तिले दिनमा तीनपटक देखि हप्तामा तीन पटकसम्म मल त्याग गर्छ ।’

हाम्रो आन्द्रामा अर्बौंका संख्यामा माइक्रोब्स काम गर्छ जसले शरिरलाई किटाणुबाट जोगाउँछ, खानाबाट शरिरलाई ऊर्जा दिलाउने काम गर्छ र शरिरलाई भिटामिन प्रदान गर्छ ।

तपाईंको खाना अत्यधिक महत्वपूर्णः

जानकारका अनुसार माइक्रोब्स एउटा सानो बच्चा जस्तै हुन्छ जसको विशेष ध्यान राख्नुपर्छ । माइक्रोब्सले विभिन्न प्रकारको भोजनबाट पोषण पाउँछ । स्पष्ट शब्दमा भन्नुपर्दा तपाईं जति भिन्न प्रकारको खाना खानुहुन्छ माइक्रोब्स त्यति नै प्रकारको र स्वस्थ हुनेछन् । यदि तपाईं एकै प्रकारको खाना खानुहुन्छ भने तपाईंको माइक्रोब्स कमजोर हुनेछ ।

आन्द्राको तनावसँग सम्बन्धः

डाक्टर रासी भन्छिन्, ‘यदि तपाईंलाई आन्द्रासम्बन्धि कुनै समस्या भइरहेको छ भने सबैभन्दा पहिले तपाईं कति तनावमा हुनुहुन्छ त्यो याद गर्नुहोस् । म आफ्नो बिरामीलाई दिनको १५ देखि २० मिनेटसम्म ध्यान गर्न सल्लाह दिन्छु ।’

विभिन्न शोधले यो बताएको छ कि मानसिक रोग जस्तै डिप्रेशनसँग जुधिरहेका मानिसहरुको माइक्रोबियम सामान्य मानिसको माइक्रोबियमभन्दा भिन्न हुन्छ ।

यो सही हो कि केही आन्द्रा अति नै संवेदनशील हुन्छन् । डा. रासी एक शोधको हवाला दिँदै भन्छिन्, ‘यदि तपाईंलाई कुनै खानेकुरा खाउँ कि नखाउँ भइरहेको छ र तपाईंले त्यसलाई खानुभयो भने तपाईंलाई पेट दुखेको भान हुन्छ । वास्तवमा, यो डरले नै यो लक्षणको जन्म दिन्छ ।’

उनी भन्छिन्, ‘मैले क्लिनिकमा यस्ता विभिन्न मानिस देखेकी छु जसको विश्वास नै उनीहरुको रोगको कारण बन्ने गर्छ ।’

पाचन तन्त्रलाई कसरी बलियो बनाउने ?

मेगन रासीका अनुसार केही विशेष कुरालाई ध्यानमा राखेर तपाईं आफ्नो पाचन स्वास्थ्य र आन्द्राको माइक्रोबियमलाई सुधार्न सक्नुहुन्छ ।

– विभिन्न प्रकारको भोजनको सेवन गर्नुहोस्, यसले माइक्रोबियम स्वस्थ हुनेछ ।

– तनावलाई कम गर्नका लागि ध्यान र मानसिक योगा गर्नुहोस् ।

– यदि तपाईंलाई आन्द्रासम्बन्धि कुरा समस्या छ भने रक्सीको सेवन नगर्नुहोस् । क्याफिन र मसालेदार खानाको पनि सेवन नगर्नुहोस् ।

– पर्याप्त सुत्नुहोस् । यदि तपाईं निन्द्रासँग सम्झौता गरिरहनुभएको छ भने यसले तपाईंको आन्द्राको माइक्रोब्सलाई हानी पुर्याइरहेको हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *