आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार
Published:
by .काठमाडौ, आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ । नेपालले घरेलु टोली युएईसँग ९९ रनको फराकिलो हार बेहोरेको हो ।
२०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ओभर सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । ६५ बलको सामना गरेका उनले २ चौका प्रहार गरे ।
आरिफ शेख र सोमपाल कामीले १५–१५ तथा विनोद भण्डारीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईका लागिद जुनैद सिद्दिकीले ४, कासिफ दाउद र अहमद राजाले २–२ तथा बसिल हमिदले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।
युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ६० रनको योगदान दिए । ७३ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
मोहम्मद वसिमले ३३ र चिराग सुरीले २६ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसी २–२ तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।
यो जितसँगै १८ खेलमा २२ अंक जोडेको युएई दोस्रो तथा ११ खेलमा १० अंकका साथ नेपाल छैटौँ स्थानमा यथावत् छन् ।
Comments