Sajhamanch Archive

नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौ,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्।

सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्।

कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्यूरो बैठकमा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र रघुजी पन्तसहितले फेरि वाम एकता प्रयास अघि बढाउनुपर्ने बताउँदै त्यसका लागि ओलीले पहलकदमी लिनुपर्ने सुझाएका थिए।

आगामी स्थानीय तह निर्वाचनका लागि रणनीति बनाउन बसेको यो बैठकमा भुसालसँगै पन्तले पनि वाम एकताको पक्षमा आफ्ना कुरा राखेका थिए। उनीहरुले आगामी स्थानीय निर्वाचनमा वाम गठबन्धन या तालमेलको उपायबाट अघि बढेर एकतासम्म पुग्न सकिने कुरा बैठकमा राखेका थिए।

केही समययता एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक बहसमा ल्याएको दुई दलीय शासन व्यवस्था र वृहत् वाम एकताबारे बैठकमा कुरा राखेका नेताहरुले विभिन्न सुझाव राखेपछि ओलीले जवाफ दिएका थिए।

‘देशमा वृहत् वाम एकताको आवश्यकता छ। वामपन्थीहरु मिलेर जानु राम्रो हुन्छ। अहिलेलाई एकता सम्भव नभए पनि आगामी चुनावमा तालमेल या गठबन्धनबाट अघि बढ्न सकिन्छ,’ भुसालको भनाइ उद्धृत गर्दै एकजना नेताले भने, यसको प्रस्थानविन्दू आगामी निर्वाचन हुनसक्छ।

वामपन्थी दलहरूबीच सहकार्य बढाउँदै गएर एकतासम्म पुर्‍याउन अध्यक्ष कमरेडले पहलकदमी लिँदा राम्रो हुन्छ।’

भुसाल र पन्तले आगामी चुनावमा गठबन्धन र वाम तालमेल गर्दै एमालेले पार्टी एकताको ढोका खुला गर्नुपर्ने बताएका थिए। उनीहरुले वाम एकता गर्नुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष ओलीले त्यो कुरा सम्भव नभएको बताएका हुन्।

‘वाम एकताका लागि एमालेले ढोका खुला राख्नलाई दाहाल नेपालले त्यो धरातल राख्नुभएको छैन्। चित्रबहादुर केसीको पार्टीले त एमालेसँग एकता नगर्ने निर्णय नै लिएको छ’, अध्यक्ष ओलीले बैठकमा भने।

एकजना पोलिटब्युरो सदस्यका अनुसार बैठकमा अध्यक्ष ओलीले दाहाल र नेपाल पार्टीको झ्यालढोका फोडेर, सिसा तोडेर गइसकेको भन्दै आक्रोश पोखे।

पार्टीको झ्याल ढोका फोडेर सिसा तोडेर जानेहरूलाई अब हामी चुकुल खोल्दैनौँ, उनले भने, नेपालमा वाम नै छैनन्, किन एकता, के का लागि वाम एकतार ?

उनले दाहाल र नेपालले माफी मागेर आएमा मात्रै एकता सम्भव हुने पनि बताएका छन्। दाहाल र नेपाल झ्याल ढोका फोडेर पार्टीबाट गएका हुन्।

त्यसरी गएकालाई एकताको ढोका खुला राख्नुको के अर्थ हुन्छ ?  उनले भने, ममाथि १९ बुँदे आरोपपत्र दर्ता गराएर, अध्यक्षबाट कारवाही गरेर, कांँग्रेसलाई सत्ता बुझाएर, न्यायालयमा सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खोल्नु ?  अब यो सम्भव कुरा भएन।’

अध्यक्ष ओलीले बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि पनि आक्रोश पोखे। उनले निर्वाचन आयोग पनि सत्ता गठबन्धनसँग मिलेको भन्दै आपत्ति जनाएका छन्।

हामीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेर दाहाल, नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान मिचे,  उनले भने, ‘नाम मात्रैका वामपन्थी कामका विरोधीलाई पार्टीमा समेट्न सकिँदैन।

दाहाल र नेपाललाई होइन, तलका नेता कार्यकर्तालाई सम्मानसाथ स्वागत गर्न तयार छौँ।’ ओलीले आयोग गठबन्धनसँग मिलिसकेकाले आगामी निर्वाचनमा मतपेटिकालाई आफूबाट ओझेल पर्न नदिन कार्यकर्तालाई आग्रह गरे।

निर्वाचन आयोग नै एमालेविरूद्ध लागिसकेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर र सिराहा काण्ड दोहोरिन सक्छ, उनले भने। ओलीले निर्वाचन आयोगको भूमिकालाई लिएर चनाखो रहन एमाले कार्यकर्तालाई पनि आग्रह गरेका छन्।

चुनाव चिन्हमा हरियो र निलो रंग राख्नुपर्ने कारण पनि निर्वाचन आयोगले दिन नसकेको ओलीले बताएका छन्। रंगको कारणले अलमलमा परेको कुरा आएको थिएन, उनले भने, निर्वाचन आयोग सत्ता गठबन्धनसँग छलफलमा छ।

उसले गठबन्धनसँग मिलेर यी निर्णय गरिरहेको छ। चुनाव चिन्हको रंग किन बदल्नुपर्यो ? दलहरूसँग परामर्श गर्नुपर्दैन। सत्ता गठबन्धनसँगको परामर्शमै यो काम भएको हो।

निर्वाचन आयोग विगतमा पनि एमालेविरुद्ध थियो, अहिले पनि हामीले सजग हुनुपर्ने भएको छ। ‘निर्वाचन आयोग गठबन्धनसँग मिलिसकेको देखिन्छ। त्यसैले यो निर्वाचनमा हामीले आँखाबाट मतपेटिकालाई ओझेल पार्नु भएन।

अन्तिमसम्म मतपेटिका आँखा अगाडि हुनुपर्छु, उनले भने, मतपेटिकलाई लिएर अरुको कुरामा विश्वास गरेर हुँदैन। सबै चनाखो हुनुहोला। कसैको विश्वासमा पर्ने कुरा हुँदैन। यदि विश्वासले चल्ने भए यी सबै कुरा गर्नै पर्ने थिएन। गोप्य मतदान नै किन गर्नुपर्थ्यो र ?

पछिल्लो समय निर्वाचन आयोगको भूमिकालाई लिएर ओलीले यो पटकको निर्वाचनमा पनि चितवनको भरतपुर र सिरहा काण्डु दोहोरिन सक्ने आशंका गरे।

निर्वाचन आयोग पहिले पनि एमालेविरुद्ध लागेको थियो। अहिले पनि त्यही कुरा दोहोरिन सक्ने अवस्था छु, उनले भने, हामी षड्यन्त्रभित्र छौँ। हाम्रा आँखा अगाडि मतपत्र हुनुपर्छ। मतपेटिका हामीबाट ओझेलमा पर्नुहुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *