७७ वटै जिल्लामा फरक फरक मतपत्र
Published: (Updated: )
by .झापा । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो ।
आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ ।
आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । ‘मतपत्रमा निर्वाचन चिह्नलाई चार खण्डमा राखिनेछ, राष्ट्रिय स्तरका दलका मतपत्र एक खण्डमा, जिल्लामा रहेका दलका र स्वतन्त्र उम्मेदवारका चिह्न फरक फरक खण्डमा रहनेछन्,’ आयोग स्रोतले भन्यो ।
राष्ट्रिय मान्यता प्राप्त दलका निर्वाचन चिह्न भने ७७ जिल्लाका ७ सय ५३ वटै पालिकामा पुर्याइने मतपत्रमा रहनेछन् । दोस्रो खण्डमा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ भाग लिएका र अहिलेको निर्वाचनमा दलदर्ता गरेकाको निर्वाचन चिह्न रहनेछन् । यसैगरी तेस्रो खण्डमा २०७४ सालको निर्वाचनपछि दल दर्ता भई यो निर्वाचनमा भाग लिन दर्ता भएका दल र स्वतन्त्र निर्वाचन चिह्न रहेकाको चिह्न रहनेछ । आयोगले जिल्लामा रहेका दलको जिल्लागत विवरण माग गरेर ७७ वटै जिल्लामा रहेको संरचनाको विषयमा छानबिन गरी निर्णय गरेको हो । जिल्लामा संरचना नभएका तर दलका रूपमा दर्ता भएका पार्टी र स्वतन्त्र उम्मेदवारलाई अन्य निर्वाचन चिह्न दिनेगरी मतपत्रको डिजाइन तयार गरिएको जनाएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर गरी तीन जिल्ला र विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाका हकमा १७ वैशाखमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि तय हुने उम्मेदवारका आधारमा जिल्लागत मतपत्र छाप्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने तयारी गरिरहेको छ ।
Comments