Sajhamanch Archive

विराट–अर्जुन उपभोक्ता सहकारीका अगाडि अथाह अवसरः अध्यक्ष ढकाल

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताएका छन् ।

उपभोक्ता सहकारीको व्यानरमा स्थापित भएका जिल्लाका अधिकांश सहकारी संस्थाहरु या त निस्क्रिय छन् वा त सानो आकारमा सञ्चालनमा रहेको अवस्थामा विराट–अर्जुनलाई भूगोलसमेतले साथ दिएकाले उसका अगाडि अवसरका चाङ रहेको अध्यक्ष ढकालको भनाई छ ।

बिर्तामोड नगरपालिकामा सञ्चालित सयभन्दा बढी संस्थाका सबै सदस्यहरु विराट–अर्जुन उपभोक्ता सहकारी संस्थामा आवद्ध हुन सक्ने अवसरले पनि यसको भविष्य उज्जवल रहेको अध्यक्ष ढकालको भनाई छ ।

आज संस्थाको नवौं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका जिल्ला अध्यक्ष ढकालले विराट–अर्जुनले अघि सारेका लगभग सबै कार्यक्रम र योजनाहरु राम्रा रहेको प्रतिक्रिया दिए ।

तर, १५ सयभन्दा बढी सदस्य रहेको सहकारीमा संकलित पूँजी तथा यसको वित्तीय कारोबार चाहिँ पटक्कै सुहाउँदो नभएकाले यसतर्फ सञ्चालकको ध्यानाकर्षण गराए ।

‘संस्थाका कार्यक्रमहरु राम्रा छन्, सदस्य विस्तार तथा आकर्षण गर्नका लागि सेलएवल योजनाहरु पनि छन्’ अध्यक्ष ढकालले सुझाए, ‘तर मार्केटिङ गर्न नसक्ता वित्तीय आंकडा बढ्न सकेको छैन, तत्कालै मार्केटिङ थाल्नु राम्रो हुन्छ ।’

साधारणसभाको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष नवराज खरेलले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट र कार्ययोजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष खरेलले आर्थिक वर्ष २०७४/०७५ सम्ममा संस्थामा ५६ लाख ४८ हजार ८०० रुपैयाँ शेयर पूँजी, एक करोड ४४ लाख ७४ हजार रुपैयाँ निक्षेप मौज्दात तथा एक करोड ७९ लाख ८८ हजार रुपैयाँ कर्जा लगानीमा रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले विभिन्न जगेडा कोषहरुमा करिब ४ लाख रुपैयाँ मौज्दात राखेको छ भने समीक्षा वर्षमा संस्थाले एक लाख ८६ हजार खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको अवसरमा संस्थामा नियमित वित्तीय कारोबार गर्ने तीनजना सदस्यहरुलाई सम्मानपत्रले सम्मान गरिएको छ भने इमान्दार कर्मचारीकारुपमा बजार प्रतिनिधि गंगा अधिकारी सम्मानित भइन् । सबै सम्मान तथा पुरस्कारहरु प्रमुख अतिथि ढकाललगायतले हस्तान्तरण गरेका हुन् ।

साधारणसभाको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख सबिना बस्नेत, संजीवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुँडाल र बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौलालगायतले आफ्ना भनाई राखेका थिए ।

यसैगरी संस्थाका संस्थापक अध्यक्ष गोपाल काफ्लेले संस्थाले यसै वर्षदेखि सञ्चालनमा ल्याएको विराट सदस्य राहत कोष सम्बन्धी नीति तथा कार्यविधि साधारणसभा समक्ष टेवुल गरेका थिए भने लेखा समितिका संयोजक सन्तोष प्रसाईंले आफ्नो प्रतिवेचन वातन गरेर सुनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *