Sajhamanch Archive

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

Published: in मिडियाबाट साभार, राजनीति by .

झापा । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने र नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ ।

गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने र नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ ।

शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् । धेरैजसो नेताले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले त्यही अनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिएका छन्।

स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुद हुने र आउँदो संसदीय चुनावमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उनले बताए। यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा आवश्यक निर्णय हुने उनको भनाइ छ ।

यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरि एक्लै चुनावमा जाँदा राम्रो हुने सुझाव दिएका छन् । डाक्टर शेखर कोइराला पक्षले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *