Sajhamanch Archive

करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो ।

सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकपमा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५० औं टी–२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृङ्खलाको फाइनलमा समेत स्थान बनायो ।

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नेपालली बलरले उत्कृष्ट प्रदर्शन गर्दा २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९।४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *