Sajhamanch Archive

झापामा यसपटक एक लाख ३६ हजार १८ जना मतदाता थपिए

Published: in विविधा by .

भद्रपुर । झापामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा यस पटक एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाको विवरण अनुसार झापामा यसपटक ६ लाख ४६ हजार २३४ जना मतदाताले मतदान गर्ने अधिकार पाएका हुन् । जसमा महिला मतदाता ३ लाख २४ हजार ७०५ र पुरूष मतदाता ३ लाख २१ हजार ५२० जना रहेका छन् भने अन्य मतदाताको संख्या ९ जना रहेको जनाइएको छ । झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २१६ जना मतदाता रहेका थिए ।

यस पटक झापामा ७५५ मतदान केन्द्र र २८६ मतदान केन्द्र तोकिएको छ भने जगेडा १० प्रतिशत समेत ६ हजार ६ सय कर्मचारी परिचालित हुने गरी निर्वाचन तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । प्रमुख नेपालका अनुसार मतदान स्थल र केन्द्रहरूको अध्ययन, अवलोकन गर्ने काम सम्पन्न भइसकेको छ । ०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी तीव्र गतिमा चलिरहेको समेत नेपालले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय झापाले निर्वाचनको आवश्यक कामलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । निर्वाचन अधिकारी नेपालका अनुसार मतदाता नामावली अद्यावधिकको काम समेत सम्पन्न भइसकेको छ । नेपालले भने, बसाइसराइ गएका , आएका, मृत्यु भएका र विवाह गरी गएका–आएका मतदाताको नामावली अद्यावधिक हुने गर्दछ । सो अद्यावधिक गरिएको नामावली नै अन्तिम नामावली हो ।

निर्वाचनका लागि आवश्यक सामग्रीहरू मतदान केन्द्रहरूमा बैशाख २७ गते पठाइने छ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाइ छ । यस्तै, बैशाख ८ गते झापाका १५ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

बैशाख ११ देखि १७ गतेसम्म निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन, उम्मेद्वारहरुको नामावली प्रकाशन, दावी विरोध, छानविनपछिको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *