Sajhamanch Archive

कमलमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

Published: in विविधा by .

भद्रपुर । झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले उद्घाटन गरेको कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कमल गाउँपालिका स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न निरन्तर नयाँ ढंगले लागिपरेको चर्चा गर्दै वैदेशिक रोजगारीमा जाने निर्णय लिएकाहरू र वैदेशिक रोजगारी सम्बन्धी कुनै समस्या भएकाहरुका लागि विस्तृत जानकारी उपलव्ध गराउन कार्यक्रमको आयोजना गरिएको बताएका थिए । उपाध्यक्ष शिवाकोटीले कमल गाउँपालिकाले सीप विकासका लागि धेरै कार्यक्रम सञ्चालन गरिरहे पनि बैदेशिक रोजगारीको आकर्षणलाई रोक्न नसकिएको बताउँदै वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउन कार्यक्रम सञ्चालन गरिएको बताए  ।

दुई दिन १ देखि ४ नं वडाका टोल विकास संस्था र दुई दिन वडा ५ देखि ७ का टोल विकास संस्थाका पदाधिकारी र वैदेशिक रोजगारीमा आफन्त रहेका परिवारका सदस्य एवम् वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सहभागिताका बीच अभिमुखीकरण सञ्चालन गरिएको झापामा सुरक्षित आप्रवासन परियोजनाको सहजीकरण गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणिन्द्र दाहालले जानकारी दिए ।

अभिमुखीकरणमा रोजगारीमा जानुपूर्वका आवश्यक प्रक्रिया र सीपको महत्व, वैदेशिक रोजगारीका क्रममा आइपर्ने विभिन्न समस्या र ती समस्याका लागि सम्पर्क गर्नुपर्ने स्थान बारे संयोजक दाहाल, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष लेखनाथ खतिवडा र सदस्य भरत शिवाकोटीले प्रष्ट पारेका थिए ।

“यथासम्भव देशमै उद्यमशीलता र रोजगार, विकल्पमा सुरक्षित वैदेशिक रोजगार“ भन्ने सन्देशका साथ संचालित कार्यक्रममा देशमै उद्यमशील बन्नका लागि वित्तिय साक्षरता, वित्तिय लक्ष तथा उद्यमको छनोटजस्ता विषयमा समेत अभिमुखीकरण गराइएको थियो ।

कार्यक्रमको समापनको क्रममा गाउँपालिका अध्यक्ष मेनका काफ्लेले कमल गाउँपालिकालाई देशमै नमुना बनाउनका लागि विभिन्न मानवीय विकासमा निरन्तर कार्य गर्दै आएको बताइन् । बालमैत्री अभियानको तीव्रता, किसानहरूका लागि किसान उद्यमी कोष, महिलाका लागि विशेष महिला लक्षित कार्यक्रमहरू संचालन गरी मानव संशाधन विकासमा गाउँपालिकाले जोड दिइरहेको र सुरक्षित वैदेशिक रोजगारी पनि त्यसैको एउटा विषय भएकाले गाउँपालिकाले यसलाई अभियानको रुपमा अघि बढाएको अध्यक्ष काफ्लेको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *