Sajhamanch Archive

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by .

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा धेरै भ्रष्टाचार भयो भन्नेमा आफू सहमत नभएको जिकिर गरेका छन् । भ्रष्टाचार मुलुकको पहिलो समस्या नभएर हाम्रो सोच र व्यवहार रुपान्तरित भएमा यसको मात्रा स्वतहः घट्ने उनले सुनाए ।

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको दुई दिवसीय ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले यस्तो बताएका हुन् । हामीसँग खर्च गर्न पर्याप्त पैसा छैन तर यो समस्या होइन भन्दै पूर्वमन्त्री पाण्डेले भने योजना बनाउनुस् र कार्यान्वयन गर्नुस् पैसा आउन थाल्छ ।

हामी नेपालीहरुमा जागिर खाने, ब्याज खाने र भाडा खाने चलन छ, यसको अन्त्य नगरेसम्म हाम्रो स्तर उँभो लाग्दैन । ‘जागिरले जीवन चलाउन सकिएला तर भविष्यलाई जोगाउन सकिँदैन । उत्पादनयोग्य जमिन बेचेर बैंकमा पैसा राख्ने र त्यसको ब्याजबाट जीवन चलाउँने पनि उँभो लाग्दैन । अनि घरभाडा उठाएर खानेले पनि प्रगति गर्न सक्दैन अल्छी हुन्छ’ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पाण्डेले प्रष्ट्याएका छन् ।

यसैबीच प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ लाई सम्बोधन गर्दै मन्त्री सरावगीले भने, ‘सहकारी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार प्रतिवद्ध छ, कुन कुन समस्या छन् मलाई भन्नुहोस् समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मन्त्री सरावगीले सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा लाग्न सुझाव पनि दिएका छन् । उनले सहकारीलाई कृषि, व्यापार र उद्योगसँग जोड्नुपर्ने बताए ।

‘सहकारीलाई पैसा किन्ने र बेच्नेमा मात्रै सीमित राख्नु हुन्न’ उनले भने, ‘सहकारी क्षेत्र औद्योगिकीकरणतर्फ अघि बढेमात्र देशले चाहेको उपलब्धि हासिल हुन्छ । मन्त्री सरावगीले सहकारीले गरेको उपलब्धिलाई पनि परिवर्तन गर्न जरुरी भएको धारणा राखे ।

उनले परिवर्तन गर्न समस्या भए सरकारले नियम परिवर्तन गरेर समस्या हल गर्ने आश्वासनसमेत दिए । मन्त्री सरावगीले सहकारीले नेतृत्व विकासमा पनि योगदान पुर्याएको बताए ।

‘निष्क्रिय रहेको वर्गलाई सशक्त बनायो, बोल्न नसक्ने वर्गलाई बोल्न सक्ने र नेतृत्व गर्न सक्ने बनायो’ उनले भने, ‘यो सहकारीले गरेको विकास हो, तर यसमा मात्रै सहकारी अल्झने हो भने सहकारीमार्फत सरकारले गरेको अपेक्षा पूरा हुँदैन ।’

उनले सहकारीलाई कृषि क्षेत्रमा ध्यान दिन सुझाए । सहकारीले उत्पादन नगरेसम्म मुलुकमा आर्थिक योगदान गर्न नसक्ने उनको ठहर छ । सहकारीको उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि सरकारले काम गर्ने उनको भनाई छ ।

‘तपाईंहरू उत्पादन गर्नुस्, उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि सरकारले काम गर्छ’ मन्त्री सरावगीले सहकारीकर्मीलाई ढाडस दिँदै भने, ‘कृषिमा काम गर्न नसक्दा चामल आयात गरेर खानु परिरहेको र भारतबाट चामल नआए भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको अवस्था छ ।’

दोस्रो दिनको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य रामचन्द्र उप्रेतीले आफ्ना धारणा राख्दै सहकारीसँग राज्यले आस गरेकाले त्यही अनुरूप सहकारी क्षेत्रले काम गर्न सक्नुपर्ने बताए ।

हिजो शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’को उद्घाटन गरेका हुन् । उद्घाटन पछि आफ्नो मन्तब्यमा उनले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी काम गर्न सहकारी संघ संस्थाहरुलाई आग्रह गरे । उनले उत्पादनमुलक क्षेत्रमा काम गर्न सहकारी संस्थाहरुलाई सुझाव पनि दिएका छन् ।

‘अत्याधिक आयातका कारण देशको अर्थतन्त्र ओरोलो लागिरहेको छ’ मन्त्री आङ्बोले चिन्ता व्यक्त गर्दै भने, ‘यो अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउन उत्पादन बढाउन सहकारीहरुले काम गर्नुपर्छ ।’ सहकारी संस्थाको ब्यालेन्स सिट ठूलो हुँदैमा त्यो सहकारी सफल भएको मान्न नसकिने जिकिर गर्दै उनले त्यसले आर्थिक विकासमा कति योगदान दियो भन्ने महत्वपूर्ण हुने प्रष्ट पारेका थिए ।

वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेका बेला पुँजी निर्माणका लागि सहकारीले योगदान गरिरहेको भन्दै मन्त्री आङ्बोले सहकारी क्षेत्रको प्रशंसा पनि गरे ।

दुई दिवसीय ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ को औचित्यका बारेमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी र सचिव भवानीप्रसाद दङ्गालले प्रकाश पारेका थिए । सम्मेलनमा ५०० जनाभन्दा बढी सहकारीकर्मीहरु सहभागी थिए ।

सम्मेलनले सहकारीमा विद्यमान समस्याहरु समाधान गर्न सामुहिक एकता एवम् कार्यक्रमहरुको महसुस गरी ९ बुँदे झापा घोषणा पत्रसमेत जारी गरेको छ ।

घोषणापत्रमा निम्न बुँदाहरु उल्लेख छ ।

१. सहकारी क्षेत्रलाई नीति, विधी र प्रविधिमैत्री बनाउन हामी प्रतिवद्व छौं ।
२. सहकारी अभियान र संस्थाबीच अन्तरसम्बन्ध विकास गर्न हामी प्रतिवद्ध छौं ।
३. सहकारी व्यवसायलाई उत्पादन, बजारीकरण र उद्यमशिलताको श्रृंखलाउन्मूख गराउन समन्वयकारी भूमिका खेल्न हामी प्रतिवद्ध छौं ।
४. संस्थामा संस्थागत विकास वित्तीय ब्यवस्थापन एवम् सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन हामी प्रतिवद्ध छौं ।
५. विद्यमान सबै तहगत सहकारी ऐन, कानूनहरु कार्यान्वयन गर्न तथा सो कानूनमा ब्यवस्था भएका सन्दर्भ ब्याज दर लगायतका ब्यवस्थालाई सहकारी मैत्री बनाउन पहल गर्न हामी प्रतिवद्ध छौं ।
६. राष्ट्रिय अर्थतन्त्रमा सहकारीबाट भएको योगदानको वास्तविक तथ्याड्ढ पहिल्याउन तथा राष्ट्रिय गणनामा समावेश गर्न निरन्तर पैरवी गर्न हामी प्रतिवद्ध छौं ।
७. संस्थाको कारोबारको सूरक्षाको पूर्ण प्रत्याभूति गर्न गराउने दिशामा सहकारी अभियान र संस्थालाई अग्रसर गराउन हामी प्रतिवद्ध छौ ।
८. सदस्यसँग नियमित समन्वय गरी तरलताको समस्या समाधानका लागि नियमित बचत र ऋणको कारोबार गर्न गराउन हामी प्रतिवद्ध छौं ।
९. सदस्य, सञ्चालक, ब्यवस्थापन र सुपरिवेक्षण समितिलाई सहकारी तालिम प्रशिक्षण नियमित सञ्चालन गरी क्षमता अभिबृद्धि गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न हामी प्रतिवद्ध छौ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *