Sajhamanch Archive

बलात्कार र महिला हिंसाविरुद्ध झापामा आत्मरक्षा तालिम

Published: in समाज by .

बिर्तामोड । बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको छ ।

वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडमा शुरु भएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइँदैछ ।

तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइँदै आएको जनाइएको छ ।

लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले औचित्य माथि प्रकाश पारेको तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिइरहेका छन् ।

नगर उपप्रमुख महतारा र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, सितोरियो करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले बलात्कार र महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि आयोजित तालिम महत्वपूर्ण भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *