धुलाबारी–भद्रपुर सडकः ३ वर्षमा एक किलोमिटर मात्र कालोपत्र
Published: (Updated: )
by .झापा – धुलाबारी भद्रपुर जोड्ने सडक बनाउने काम बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि बजेट अभावमा अहिले मेचीनगर नगरपालिका १० को खयरडाँगीको भेटवाल चोकबाट मेचीनगर १५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो ।
भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको २५ करोड ३२ लाख ८४ हजार रुपैयाँमा हिम्डुङ एन्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्र गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उन्ले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताए । ‘प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ’ उन्ले बताए, ‘आउँदो वैशाखको पहिलो हप्ताभित्रमा बजेट आयो भने काम सकिन्छ, त्योभन्दा ढिलो भएमा म्याद थपेर अर्को वर्ष बनाउनुको विकल्प छैन ।’
उन्का अनुसार मेचीनगर नगरपालिकाको १० नम्बर वडाको भेटवाल चोकदेखि मेचीनगर १५ कै ज्यामिरगढीमा रहेको हडिया खोलासम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा परेको थियो । योजनाअनुसार नै सडकको दुवै साइडमा नाली खन्ने र सडक कालोपत्र गर्न योग्य बनिसकेको उहाँको ठहर छ ।
विसं २०७६ कात्तिक २० गते निर्माण कम्पनीसँग २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएर त्यो सडकको शिलान्यास तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रकुमार आङ्बोले गरेका थिए ।
धुलाबारी–भद्रपुर जोड्ने यो सडक खण्डमा नेपाल प्रवेश गरेका पर्यटक यही बाटो हुँदै चन्द्रगढी एअरपोर्टबाट काठमाण्डौलगायत देशका अन्य भागमा जान सजिलो हुने हुँदा चाँडै निर्माण सक्नुपर्ने नगरपालिकाकी उपमेयर मीना उप्रेतीको भनाइ छ ।
Comments