प्रदेशस्तरीय विषादी मापन केन्द्रको व्यवस्थापनमा समस्या
Published: (Updated: )
by .झापा । तरकारी तथा फलफूलको विषादी मापन गर्नका लागि स्थापित प्रदेशस्तरीय विषादी मापन केन्द्रको व्यवस्थापनमा समस्या देखिएको छ ।
विषादी मापन केन्द्रलाई कुन तहको सरकारले सञ्चालन गर्ने भन्ने छिनोफानो नहुँदा अन्योल देखिएको हो ।
जसअन्तर्गतकै १ नम्बर प्रदेशस्तरीय झापाको विर्तामोडमा रहेको विषादी मापन केन्द्रको अवस्था पनि उस्तै अस्तव्यस्त छ ।
तरकारी तथा कृषिजन्य उत्पादन गर्दा जथाभावी विषादीको प्रयोगले मानव स्वास्थ्यलाई निकै चुनौती थपिदिएको छ ।
जथाभावी र अनियन्त्रित विषादीको प्रयोगलाई न्यूनीकरण र मापन गर्न दुईवर्षअघि सरकारले प्रदेशस्तरीय विषादीमापन केन्द्र स्थापना गरेको थियो ।
सुरुमा केही सक्रियता देखाएका यी केन्द्रहरु फेरि धराशायी बन्न थालेका छन् ।
त्यसैको एउटा नमुना हो प्रदेश नम्बर १ का लागि झापाको विर्तामोडमा खोलिएको विषादी मापन केन्द्र । जहाँ व्यवस्थापन फितलो हुँदा जसको अवस्था भताभुंग छ
दुईवर्षसम्म जसोतसो चलेको प्रयोगशालाको अवस्था अहिले झनै नाजुक भएको छ ।
यस केन्द्रमा कार्यरत तीन कर्मचारीले दुई महिनादेखि तलब समेत पाएका छैनन् भने बिग्रिएका सामान पनि त्यत्तिकै छरपस्ट छन् ।
यता, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी भने केन्द्रीय सरकारले हेर्ने भएकोले नगरपालिकाले केही गर्न नसक्ने बताउँछन् ।
यो विषादीमापन केन्द्रका कर्मचारीहरु आफूले सकेसम्म काम गरिरहेका छन् तर सरकारले ध्यान नदिँदा उनीहरुमा पनि काम गर्ने उत्साह हराउन थालेको छ ।
जुन प्रयोजन र कारणले विषादी मापन गर्ने प्रयोगशाला स्थापना गरियो त्यसको व्यवस्थापकीय पक्षलाई भने वास्ता गरिएन ।
यसले विषादीको मनलाग्दी प्रयोगमा कुनै नियन्त्रण आउने छाँटकाट देखिँदैन ।
इमेज खबरबाट ।
Comments