Sajhamanch Archive

ग्यास प्लान्ट विष्फोटः मृतकको परिचय खुल्यो, ७ जनाको उपचार हुँदै

Published: in मिडियाबाट साभार by .

ललितपुर । सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ ।

बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेको बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीका प्रवक्ता शाहले जानकारी दिएका छन् । उनका अनुसार घाइते एक जनाको अवस्था गम्भीर छ भने उनको एउटा खुट्टा छिनिएको छ । अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्। अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले शुरुवाती अनुसन्धान गरिरहेको र शुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए ।

त्यस्तै दुर्घटना स्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए। उनले अन्य घाइतेलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाएका छन्। मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए । मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने र यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *