Sajhamanch Archive

कनकाई–३ का वडाध्यक्ष पदका उम्मेदवार चम्लागाई को हुन् ?

Published: (Updated: ) in विविधा by .

कनकाई । कनकाई–३ को वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार युवराज चम्लागाईं भविष्य बोकेका एक सशक्त नेता हुन् ।

२०२७ साल फागुन ९ गते तत्कालीन सुरुङ्गा–६ चप्रामारीमा जन्मेका चम्लागाई विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा आबद्ध थिए । आई. ए. सम्मको अध्ययन पुरा गरेका चम्लागाईले २०४२ सालको स्थानीय चुनावमा आफ्नो वार्डबाट उठेका जनपक्षीय उम्मेदवारलाई सहयोग गरेर नजानिँदो तरिकाले वामपन्थी विचारप्रति आकर्षित हुन पुगेका थिए ।

२०४४ सालमा तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियुको सदस्यता लिएका चम्लागाईले २०४४ साल मंसिर २७ गते मेघालयबाट खेदिएका नेपालीको समर्थनमा भएको प्रदर्शनमा भाग लिएका थिए । सो प्रदर्शनको क्रममा लक्ष्मी पाण्डेको शहादत भएको थियो । कनकाई क्याम्पस सुरुङ्गाको स्ववियु चुनावमा उनले सशक्त भूमिका खेलेका थिए अनेरास्ववियुको पक्षमा ।

नेकपा एमालेको ९ महिने सरकारका ‘आफ्नो गाउँ आफैं बनाऔं’, ‘वृद्धभत्ता’ जस्ता जनपक्षीय कार्यक्रमले कम्युनिष्टप्रतिको उनको विश्वास अझै प्रगाढ भयो । उनी निरन्तर एमालेको बहुदलीय जनवादको मार्गदर्शनमा क्रियाशील भइरहे । आफ्नो विचार प्रष्ट राख्ने र योजना अनुरूपका कामहरु फत्ते गर्न दिनरात खट्ने चम्लागाईंको बानी छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा कनकाई वार्ड नं. ३ को परिषद् सदस्यमा निर्वाचित भए पछि उनले आजसम्म पनि वार्डवासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका छन् । वार्ड नं. ३ का एमाले कार्यकर्ताहरूमा उनको बलियो पकड छ भने शिक्षक, मजदुर, पत्रकार, बुद्धिजीवी, रिक्सावाला, व्यापारी, व्यवसायीसँग पनि उनको घनिष्ठ सम्बन्ध छ । त्यसैले उनलाई बहुमत कार्यकर्ताले वार्ड अध्यक्षको उम्मेदवार उठाउने निधो गरे र पार्टी नेतृत्वले पनि जनभावनालाई बुझेर कार्यकर्ताको निर्णयलाई स्वीकार ग¥यो । उनले वार्डअध्यक्षको टिकट पाएपछि उनी युवाहरूसँग मिलेर चुनाव प्रचारप्रसारमा जुटिरहेका छन् । उनलाई वार्ड सदस्यका उम्मेदवारहरू गोविन्द सुवेदी, अनिल गोयल, कृष्णमाया भुजेल र सुष्मा परियारको पुरा सहयोग छ, त्यति मात्र होइन वार्ड नं. ३ का एमाले नेताहरू मनोहरि बिमली, डिल्लीराम उप्रेती, अम्बरबहादुर कार्की, छबि थपलिया, ख्यामप्रसाद ओली, राजेन्द्र उप्रेती (राजेश), पूर्ण लिम्बू, चन्द्रप्रसाद प्रसाई लगायतको पूर्ण साथ र सहयोग छ ।

अहिले पनि वार्ड नं. ३ को कुन टोलमा कस्तो समस्या छ र काम कसरी अघि बढिरहेको छ भनेर उनी चिन्तनशील भइरहन्छन् । साँच्चै भन्ने हो भने चम्लागाई नेकपा एमालेले जन्माएका एक उत्तम सामाजिक कार्यकर्ता हुन् । जनताको सुखदुःखमा साथ दिने चम्लागाई शैक्षिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । झापा मेरिगोल्ड अंग्रेजी मावि व्यवस्थापन समिति अध्यक्ष, जनचेतना आधारभूत विद्यालय कनकाई–३ का विद्यालय व्यवस्थापन समिति सदस्य र चम्लागाई प्रतिष्ठान झापाको सचिव जस्ता जिम्मेवारी सम्हालिसकेका चम्लागाईंले आफूलाई जनताको सेवक सम्झिन्छन् । उनी भन्छन्, ‘राजनीति भनेको जनताको सेवा हो, यो पनि एक प्रकारको सामाजिक सेवा नै हो ।’ आफ्नो ५ वर्षे वार्ड सदस्यको कार्यकालमा सदैव जनताको हितमा काम गरेको र आर्थिक अपचलन गरेको भनी कसैले पनि औंलो उठाउन नसकेको उनको दावी छ । उनी सबैका प्रिय छन् र मृदुभाषी पनि छन् । कसैलाई भनेर बिझाउनेभन्दा पनि उसलाई सहयोग गरेर मीठो वचनले रिझाउने उनको बानी छ ।

दूरदृष्टि, जनसम्पर्क, व्यक्तित्व, सत्य र न्यायप्रतिको निष्ठा, जनतासँगको घुलनशीलता र जवाफदेहिता नेतृत्वका गुण हुन् । चम्लागाईंमा सबै तह, तप्का, वर्ग, धर्म र जातका मानिससँग उत्तिकै सम्बन्ध राख्ने, जनसरोकार, चासो र समस्या बुझ्न सक्ने र समस्या हल गर्न समाधानकर्ताको गुण रहेको छ । नेकपा एमालेले बोकेको सामाजिक रूपान्तरणका लागि परिवर्तनका वाहक बन्न सक्ने खुबी उनमा छ । जीवनका हरेक क्षेत्रमा पारदर्शिता कायम राख्दै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने गरी काम गर्ने उनको सङ्कल्प छ ।

चम्लागाईंका मुख्य एजेन्डा के हुन् ?
कनकाई नगरको आर्थिक, शैक्षिक र राजनीतिक केन्द्र मानिने वार्ड नं. ३ र विशेषगरी शहरोन्मुख सुरुङ्गालाई व्यवस्थित शहरको रूप विकास गर्न हचुवामा बजेट विनियोजन गर्ने परम्परालाई रोक्ने र प्राविधिक नक्साङ्कन, रूपाङ्कन र अनुमानित लागतको आधारमा मात्र बजेट छुट्टाउने पद्धति शुरु गर्ने उनले बताए ।

पूर्वाधार निर्माण लगायतका विनियोजित बजेट खर्च गरी फस्र्याैटका लागि उपभोक्ता समितिलाई समस्या परिरहेकाले सहजीकरणका निम्ति वार्ड कार्यालयमा जनशक्तिको सो काममा सहयोग निम्ति व्यवस्था गरिने उनले बताए । ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेलाई भत्ता प्राप्त गर्न कठिनाइ भएकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिने चम्लागाईंको प्रतिबद्धता रहेको छ । चम्लागाईंले एकल महिलाका लागि सीपमूलक तालिमको आयोजना गर्ने र स्वरोजगार सृजनाका लागि वातावरण बनाउने र युवालाई उद्यमी बन्न र उत्पादनमूलक काममा सहभागी हुन प्रेरित गर्ने योजना सुनाए ।

वार्डका योजना निर्माण र कार्यान्वयनमा सबैको सहभागिता सुनिश्चित गर्ने र वार्डबाट गरिने प्रशासनिक कार्यमा सबै तप्काका जनताको समान पहुँच स्थापित गर्ने वातावरण बनाउने उनको प्रतिबद्धता छ । नागरिकता ऐन अनुसार नागरिकता पाउन योग्य वडाका सबै नागरिकलाई बिना भेदभाव नागरिकता प्राप्तिका लागि सहजीकरण गरिने उनले प्रतिबद्धता सुनाए । वार्डभित्र रहेका दुई सामुदायिकसहित सबै संस्थागत विद्यालयमा पठनपाठन गुणस्तरीय बनाउन वार्ड कार्यालयको तर्फबाट आवश्यक सहयोग गरिने उनले बताए ।

बाटालाई स्तरीकरण गर्ने र स्वच्छ खानेपानीको सेवा विस्तारका लागि पहल गरिने उनको भनाइ छ । वार्ड नं. ३ मा स्थायी बसोबास गर्ने नागरिकले जनप्रतिनिधिको ५ वर्षे कार्यकालभित्र विद्यावारिधि (पीएचडी ) गरेमा छात्रवृत्ति बापत प्रोत्साहन रकम उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनी भन्छन् – ‘विजय हासिल गरेमा मेरो टिमका साथीहरूको सहयोगमा वार्ड नं. ३ को सर्वाङ्गीण विकासमा विनम्रताका साथ निस्वार्थ जनसेवा गर्नेछु ।’

प्रस्तुति ः संगीता उप्रेती

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *