कनकाईको मेयरका प्रत्यासी बनेका पोखरेलको नेतृत्व भारी मतले विजयी हुनेः नेता खरेल
Published:
by .कनकाई । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले कनकाईको मेयरका प्रत्यासी बनेका राजेन्द्र पोखरेलको नेतृत्व भारी मतका साथ विजय हुने बताएका छन् । एमालेको नेतृत्वमा बनेको सरकारबाट भएको असल कर्मकै कारण फेरी पनि जनताले एमालेको नेतृत्व चाहेको भन्दै नेता खरेलले कनकाईमा एमालेको जीत सुनिश्चित भएको दावी गरे ।
नेकपा एमाले कनकाईले वडा नं. ८ स्थित लक्ष्मीपुरमा आयोजना गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै एमाले नेता खरेलले सुखी नेपाली समृद्ध नेपाल निर्माणको परिकल्पनाकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ नेपाल निर्माणको अभियानमा एकजुट हुन समेत सबैलाई अनुरोध गरेका छन् ।
देश बनाउँने अभियानमा समृद्धिका सपना देख्ने एमाले अध्यक्ष ओली कहिल्यै पनि निजी स्वार्थका विषयमा विवादमा नपरेको नेता खरेलले टिप्पणी गरे । परिवार बनाउने, छोरीलाई मेयर बनाउने र सम्धीलाई मन्त्री बनाउने अभियानमा कहिल्यै नलागेका एमाले अध्यक्ष ओलीको नेतृत्वमा आएको नयाँ नेपाल निर्माणको अभियानलाई सफल पार्न अब सबै स्थानीय तहमा एमालेकै बहुमतको नेतृत्व आउँने कुरामा नेता खरेलले जोड दिए ।
नेता खरेलले पूर्व पश्चिम रेल मार्गको सम्झौता गर्ने व्यक्ति एमाले अध्यक्ष ओली नै भएको प्रष्ट पार्दै उनले अहिले उत्तर–दक्षिण जोडिने रेल निर्माणकोलागि चीन सरकारसँग समेत सम्झौता सम्पन्न भएर डिपिआर निर्माण भईरहेको बताए ।
जनताको माया र साथ पाएकै कारणले विगतमा कनकाई नगरपालिकामा समेत एमालेको तर्फबाट नेतृत्व गरेका नगर प्रमुख, उपप्रमुख लगायत अधिकांश जनप्रतिनिधिबाट ऐतिहासिक काम भएकोमा नेता खरेलले खुशी व्यक्त गर्दै आगामी कार्यकालकालागि समेत पार्टीका तर्फबाट बनेका सबै उम्मेद्वारलाई अग्रिम बधाई शुभकामना व्यक्त गरे । वर्तमान नगर प्रमुखका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलको नेतृत्वले कनकाईलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउन सफल भएकै कारण कामको मूल्यांकन गरेर पार्टीले फेरि एकपटक मेयर र उपमेयरलाई दोहोर्याउने निर्णय गरेको नेता खरेलले बताए । यस पटक पनि जनताले उहाँहरूको कामलाई विश्वास गरेर एमालेलाई नै भोट दिई जिताउनेमा आफूहरू विश्वस्त रहेको नेता खरेलले बताए ।
कार्यक्रममा एमालेका तर्फबाट कनकाई नगरपालिकाका मेयरका उमेद्वार राजेन्द्रकुमार पोखरेलले आफूले नगरलाई समृद्ध बनाउन सुरू गरेका आयोजनाहरुलाई पूरा गर्दै जनताको माग र आवश्यकता अनुरूप प्राथमिकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
एमालेको तर्फबाट कनकाई वडा नम्बर ८ का वडाअध्यक्षका उम्मेद्वार प्रेमवहादुर कटुवालले आफ्नो वडामा रहेका अधुरा बाटा, पुल, कल्र्भट जस्ता निर्माणका कार्यलाई सम्पन्न गर्दै नयाँ योजना ल्याएर समग्र वडाको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
कनकाई नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । वृद्ध, बिरामी, विपन्न लगायत सम्पूर्ण नगरवासीहरुले एमालेका उम्मेद्वारहरुलाई तपाईंहरू नै आउनुपर्छ भन्दै आशिर्वाद दिईरहेको बताइएको छ ।
Comments