Sajhamanch Archive

निगमले दसैंमा पाँचवटा जहाजबाट आन्तरिक उडान गर्ने

Published: (Updated: ) in अर्थतन्त्र by .

निगमले ५८ सिट क्षमताका एक, १९ सिटे दुई र १७ सिटे दुई जहाजबाट दसैंमा उडान गर्ने घोषणा गरेको हो । अर्को एकथान ५८ सिटे जहाज भने दसैंअघि नै सञ्चालनमा ल्याउने गरी निगमले काम गरिरहेको जनाएको छ ।

 

“यसपालि दसैंमा पाँचथान जहाजबाट दुर्गम र सुगम भेगका गन्तव्यमा सकेसम्म धेरै उडान गर्ने लक्ष्य छ,” निगमका प्रवक्ता अशोक सिग्देलले आइतबार बाह्रखरीसँग भने, “यात्रुका माग र आपूर्तिअनुसार टिकटको भाउ तय हुने छ भने गन्तव्य पनि त्यहीअनुसार हुनेछन् ।”

सरकारी कम्पनी भएका नाताले निगमले बिक्री गर्ने टिकटको भाउ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीका दाँजोमा सस्तो रहेको छ । यसबाट पनि यात्रुले निगमका जहाजबाट यात्रा गर्न चाहने गर्छन् । तर, तोकिएको समयमा नउड्ने, टिकट नपाउने, अधिकांश समय जहाज ‘ग्राउन्डेड’ हुनेलगायत कारण निगममाथि यात्रुको विश्वास बढ्न सकेको छैन ।

प्रवक्ता सिग्देलका अनुसार एक महिनाभन्दा बढी समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको ५८ सिटे एउटा जहाजले आइतबारबाट नियमित व्यापारिक उडान पुनः सञ्चालन गरेको छ । हाल निगमसँग ५८ सिटे दुईथान एमए–६०, १७ सिटे चारथान ‘वाई१२–ई’ र १९ सिटे दुईवटा ‘ट्विनअटर डिएचसी६’ सिरिजका जहाज छन् ।

तीमध्ये एमए–६० र वाई१२–ई चीनमा निर्मित जहाज हुन् । ट्विनअटर भने क्यानडामा निर्मित हुन् । निगमसँग रहेका ट्विनअटर न्यूनतम ४० वर्ष पुराना हुन् ।आठ जहाजमध्ये दुइटा ट्विनअटर र एउटा एमए–६० त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छन् ।

तिनको मर्मत कार्य चलिरहेको प्रवक्ता सिग्देलले जानकारी दिए । “मर्मत पूरा भएपछि असोज २० गतेबाट दुईथान ट्विनअटरले नियमित व्यापारिक उडान सुरु गर्नेछन्,” उनले भने, “अर्को एमए–६० लाई पनि दसैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

”उनका अनुसार ग्राउन्डेड एमए–६० को ‘प्रोेपेलर’ मर्मत गर्न चीन पठाइएको छ । दसैंअघि नै ल्याउने गरी काम गर्न चिनियाँ जहाज निर्माता कम्पनीलाई आग्रह गरिएको छ । त्यसबाहेक एउटा एमए–६० लाई रात्रि उडानमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

हाल धनगढी, नेपालगन्ज, भैरहवा, विराटनगर लगायत गन्तव्यमा रात्रि उडान सुविधा उपलब्ध छ ।निगमसँग आन्तरिक उडान गर्न दुई दर्जनभन्दा बढी गन्तव्य छन् । ती गन्तव्यमा उडाउन हाल आठथान जहाज भए पनि चिनियाँमात्र सञ्चालनमा छन् ।

चारथान वाई१२–ईमध्ये दुईमात्र सञ्चालनमा छन् भने पाइलट अभावका कारण बाँकी दुईलाई निगमले उडानमा प्रयोग गर्न सकेको छैन । सरकारले एकैपटक चारथान खरिद गर्ने र दुइटा सिँत्तैमा पाउने गरी २०६९ मंसिर १४ मा ६ थान चिनियाँ जहाज खरिद सम्झौता गरेको थियो ।

यसका लागि चीनसँग साढे ३ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सरकारले लिएको छ ।  सरकारले सम्झौता गरेको र व्यापारिक उडान गर्ने भएका कारण चिनियाँ जहाजको सञ्चालन भने वायुसेवा निगमको जिम्मामा परेको थियो ।

चीनसँग भएको सम्झौताअनुसार चारथान वाई१२–ई र ५८ सिटे दुईथान एमए–६० सिरिज ल्याइएका थिए । निगमले अनुदानमा पाएका एक–एकथान वाई१२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई१२–ई र एमए–६० ल्याएको थियो । पछिल्लो पटक अन्तिम दुई वाई१२–ई ल्याएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *