ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो
Published: (Updated: )
by .म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नीलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग २ ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको ज्यान गएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा नीलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Comments