दमकको मत परिणामः वडा अध्यक्षमा एमाले र गठबन्धन विजयी
Published: (Updated: )
by .झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकका १० वडामध्ये ३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ।
पछिल्लो मतपरिणाम अनुसार दमक वडा नम्बर १, २ र १० का परिणाम सार्वजनिक भएको हो। अहिलेसम्मको नतिजाअनुसार दुईवटा वडामा एमाले र एउटा वडामा गठबन्धन विजयी भएको छ। वडा नम्बर १ मा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने वडाध्यक्षसहित प्यानल निर्वाचित भएको छ। गठबन्धनबाट राप्रपाका उम्मेदवार ताराप्रसाद अधिकारीलाई पराजित गर्दै एमालेका न्यौपाने निर्वाचित भएका हुन्।
न्यौपानेले १६८६ र अधिकारीले १६२४ मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका रघुवीर बुढाथोकी, राजकर्ण राई, तारा खप्तरी र नवीना मोहरा निर्वाचित भएका छन्। त्यस्तै वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षमा एमालेका प्रजापति सापकोटा निर्वाचित भएका छन्। गठबन्धनबाट माओवादीका उम्मेदवार बनेका रुद्रबहादुर कार्कीलाई पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले १४२७ र कार्कीले १३९० मत ल्याएका छन्। वडा सदस्यहरूमा एमालेका छविलाल दुलाल, ललितबहादुर विश्वकर्मा, दुर्गादेवी पौडेल र चन्द्रकला विश्वकर्मा निर्वाचित भएका छन्।
त्यस्तै वडा नम्बर १० मा गठबन्धनको प्यानल विजयी भएको छ। गठबन्धनबाट काँग्रेसका उम्मेदवार बनेका राजेन्द्रप्रसाद भण्डारी वडाध्यक्ष निर्वाचित भएका छन्। उनले एमालेका बोधराज न्यौपानेलाई पराजित गरेका हुन्। भण्डारीले १५६३ र १३८३ मत ल्याएका छन्। त्यस्तै सदस्यहरूमा काँग्रेसका रवीन्द्र लिम्बु, भूमिका आचार्य र रेणुकादेवी दर्जी निर्वाचित भएका छन् भने एमालेका जङ्गबहादुर राई सदस्य निर्वाचित भएका छन्। नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन अगाडि रहेका छन्। गठबन्धनका उम्मेदवारलाई एमालेले पछ्याइरहेका छन्।
Comments