Sajhamanch Archive

झापामा ९ वर्षीया नाबालिकामाथि बलात्कार, आरोपी पक्राउ

Published: in समाज by .

विर्तामोड । झापाको मेचीनगर नगरपालिकामा ९ वर्षीया नाबालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । मेचीनगर १० धुलाबारीकी ती नाबालिकालाई छिमेकीले नै बलात्कार गरेको तथ्य खुलेको छ । नाबालिकाको परिवारका सदस्यको किटानी जाहेरीका आधारमा नाबालिका बलात्कार गरेको आरोपमा मेचीनगर–१० का ३४ वर्षीय विपुल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । घट्नाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

घटना विवरणअनुसार २०७९ बैशाख २५ गते परिवारका सदस्यबाट अलग्गै लगेर नाबालिकालाई ललाइफकाइ राजवंशीले बलात्कार गरेको परिवारका सदस्यले बताएका छन् । नाबालिकाको शारीरिक अवस्था अस्वस्थ भएपछि स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले बलात्कार भएको हुन सक्ने बताएपछि मात्रै घट्नाबारे परिवारका सदस्यले थाहा पाएका थिए । आफूमाथि के गरेको भन्नेसमेत थाहा नपाउने अवस्थामा नाबालिका रहेको र परिवारका सदस्यले नाबालिकासँग कुरा गरेपछि मात्रै बलात्कार भएको परिवारले थाहा पाएको एक परिवारका सदस्यले बताए ।

परिवारका सदस्यले नाबालिकासँग कुरा गर्दा नाबालिकाले घटना विवरणबारे बताएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा परिवारका तर्फबाट जेठ २ गते राजबंशीबिरुद्ध उजुरी दिएपछि सोही दिन आरोपित राजवंशीलाई पक्राउ गरी घट्नाबारे विस्तृत अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता पाठकले बताए । ‘बालिकाले नै आरोपितलाई पहिचान गरेपछि हामीले तत्काल राजवंशीलाई नियन्त्रणमा लिएका हौँ,’ प्रहरी प्रवक्ता पाठकले भने, ‘अनुसन्धान जारी छ, यो घटनामा जबरजस्ती करणीमा मुद्दा चल्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *