Sajhamanch Archive

प्रदेश १ को जिससमा एमालेको तीन जिल्ला र काँग्रेसको दुई जिल्लामा एकल बहुमत

Published: in राजनीति, स्थानीय तह by .

झापा । प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसको बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले एक्लै झापा, मोरङ र धनकुटामा बहुमत पुर्याएर जिल्ला समन्वय समिति निर्माण गर्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेसको एकल बहुमत देखिएको छ ।

मोरङमा ३४ मतमध्ये एमालेको एक्लै २१ मत छ । मोरङमा एमालेले ९ तहको प्रमुख र १२ तहको उपप्रमुख जितेको छ । यस्तै १५ स्थानीय तहमध्ये एमालेले ७ प्रमुख र १० उपप्रमुख जितेको झापामा जिसस गठनका लागि उसैलाई बहुमत पुग्ने देखिएको छ ।

धनकुटामा पनि एमालेको बहुमत देखिएको छ । धनकुटाका ७ स्थानीय तहमा जिससको लागि १४ मतदाता छन् । जसमा ३ प्रमुख र ६ उपप्रमुखसहित एमालेसँग एक्लै ९ मत छ । सुनसरीमा भने काँग्रेसले बहुमत ल्याएको छ । सुनसरीमा ७ प्रमुख र ६ उपप्रमुख काँग्रेसले जितेको छ । यस्तै सोलुखुम्बुमा रहेका ८ स्थानीय तहमध्ये काँग्रेसले ५ प्रमुख र ५ उपप्रमुख जितेकोले जिसस गठन गर्न उसँगै एक्लै बहुमत पुग्ने देखिएको छ ।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारी र त्रियुगाबाहेक सबै स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम आइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *