Sajhamanch Archive

इन्डोनेशिया भूकम्पः आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाउने २१ वर्षे ‘हिरो’

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

इन्डोनेशिया भूकम्पले तहसनहस भएको छ । शुक्रबार देशमा आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तीमा आठ सय ४४ को ज्यान लिएको छ ।

शुक्रबार जब इन्डोनेशियाको धर्ती हल्लियो तब २१ वर्षका एन्थोनियस गुनावान एगुअंग पालू एयरपोर्टको कन्ट्रोल टावरमा तैनाथ छ । उनले बाटिक एयरलाइनको एक विमानलाई उडान भर्नका लागि अनुमती दिइरहेका थिए ।

भूकम्प आएलगत्तै एगुअंगका सहयोगी नियन्त्रण टावर छोडेर बाहिर निस्किए तर उनी भने विमानले रनवेबाट उडान नभरेसम्म त्यहाँ बसिरहे ।

विमान उड्ने बित्तिकै भूकम्पको झट्का तीब्र भयो । एकैछिनमा नियन्त्रण टावरको चार तल्ले भवन भत्कियो । आफूलाई बचाउनका लागि एगुअंग झ्यालबाट हाम फाले जसका कारण उनको हात, खुट्टा र शरिरका विभिन्न हड्डी टुट्यो ।

उनलाई विमानमार्फत अस्पताल पुर्याइनु थियो तर विमान पुग्नु अगावै अगुआंगको मृत्यु भयो ।

एक हिरोः

इन्डोनेशियाको एयर नेभिगेशनका प्रवक्ता योहानेस सिरैतले एबीसीसँग भने, ‘एगुअंगको निर्णयले लाखौंको जीवन बच्यो ।’

इन्डोनेशियाको एयर नेविगेशनले एगुअंगको तस्बिर ट्वीटरमा साझा गर्दै श्रद्धाञ्जली दिएको छ । यी तस्बिरमा उनको पार्थिव शरिरलाई इन्डोनेशियाली सेनाका जवानले अन्तिम यात्राका लागि लैजादैं छन् ।

एगुअंगको यो साहसले भरिएको कहानी इन्टरनेटमा छाएको छ र उनलाई ‘हिरो’ बताइएको छ ।

बाटिक एयरलाइनका क्याप्टेन रिकोस्टा मेफेलाले एगुअंगप्रति आभार प्रकट गर्दै उनले बोलेको अन्तिम शब्द इन्स्टाग्राममा लेखेका छन् ।

इन्डोनेशिया भूकम्प र सुनामीको कहर झेलिरहेको छ । शुक्रबार आएको आपदमा कम्तिमा आठ सय ४४ मारिएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने आशंका गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *