Sajhamanch Archive

तारा एयर सानुसरे भीरमा दुर्घटना, धनुषाका एकै परिवारका ७ जना रहेको पुुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । हिजो देखि हराइरहेको तारा एयर दुर्घटना भएको अवस्थामा फेला परेको छ । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ ।

तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९ एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।”

प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको र हाल उद्धार भइरहेको पनि जनाइएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *