Sajhamanch Archive

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

झापा । प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् ।

आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘आजकै संसद बैठकमा अर्थमन्त्रीज्यूले बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुहुन्छ,’ प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले भने ।

प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशले सबै मन्त्रालयलाई आफ्ना प्राथमिकता, सिद्धान्त तथा कार्यक्रमको मार्गनिर्देशन पनि गरिसकेको छ । यस्तै बजेटको सिलिङ पनि तोकेको जनाएको छ । चालू आर्थिक वर्षमा ३२ अर्ब ४६ करोडको बजेट थियो । आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने प्रदेश १ अर्थमन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषि उत्पादनको विशेष क्षेत्रहरु लक्षित कार्यक्रम बनाउने जनाएको छ । यस्तै उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम समेट्न लागेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *