Sajhamanch Archive

स्थानीय चुनावमा कति भयो मत बदर : आयोगले अझै सकेन हिसाव निकाल्न

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतगणना परिणाम आएर जनप्रतिनिधिले काम सुरु गरिसक्दा पनि मत बदरको विवरण आउन सकेको छैन । निर्वाचन आयोगले यसको विवरण आउन अझै केहि दिन लाग्न सक्ने बताएको छ ।

आयोगको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने– ‘अहिले मतगणनामा के ट्रेन्ड देखिएको छ भने त्यस्ता ठाउँहरुमा मत बदर बढी भएको छ, जहाँ दुई वा दुईभन्दा बढी दलहरुले आपसी तालमेल गरेका छन् । विशेषतः उपमेयर र उपाध्यक्षको मत धेरै बदर भएको छ । जहाँ मेयरको लहरमै सिधै मत हानिएको छ । त्यसरी लहरै छाप हान्दा जुनमा उपमेयर वा उपाध्यक्ष उठेका थिएनन्, त्यो अवस्थामा बदर भएको छ । त्यस्तै अर्को मेयरको लाइनमा लहरै र उपमेयर वा उपाध्यक्षका लागि फेरि अर्को तल्लो लाइनमा दुईपटक छाप हान्दा धेरै मत बदर भएको छ ।’

सात कोठामा भएको मतदानअनुसार छुट्टाछुट्टै पदमा कति मत बदर भयो भनेर हिसाव निकाल्ने काम भइरहेको सहप्रवक्ता अर्यालले जानकारी दिए । सामाजिक आर्थिक रुपमा केही अगाडि बढेका क्षेत्रहरु मोरङ, चितवन, कास्की, पोखरा, धनगढीजस्ता ठाउँमा पनि धेरै मत बदर भएको उनले बताए ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भने मतदाता शिक्षाका लागि अहिलेको भन्दा केही बढी बजेट खर्च आयोगको योजना छ । मतदाता शिक्षाका लागि बढी जोड दिनुपर्ने भन्ने कुरा आएकोले ३० देखि ४० करोड बढी बजेट खर्च हुनसक्ने अनुमान छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *