Sajhamanch Archive

सहारा नेपालद्वारा क्यान्सर रोगीलाई २५ लाख ५० हजार उपचार सहयोग प्रदान

Published: (Updated: ) in सहकारी by .

झापा । नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालले क्यान्सर रोगले पिडीत बनेका आफ्ना ७ जना शेयर सदस्यलाई आज २५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरेको छ ।

आफ्ना शेयर सदस्यहरुलाई साना साना रोग लागेर उपचार गर्दा ८० प्रतिशतसम्म उपचार खर्च बेहोर्दै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगीलाई पहिलोपटक यस्तो गहकिलो सहयोग गरेको हो ।

सहकारी संस्थाले सञ्चालन गरेको ‘जीवन बरदान स्वास्थ्य कार्यक्रम’ अन्तर्गत पीडितलाई यस्तो उपचार सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

क्यान्सरको उपचार गराएका उनीहरुलाई खर्च हेरेर सहयोग गरिएको सहकारीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले जानकारी दिए ।

संस्थाले गिजाको क्यान्सर भएका शिवसताक्षीका कर्णबहादुर बिकलाई दुई लाख ५० हजार, आन्द्राको क्यान्सर भएकी बिर्तामोडकी रमा लिङ्देनलाई पाँच लाख, टाउकाको क्यान्सर पीडित बाह्रदशीकी केन्द्रमाया कार्कीलाई दुई लाख, घाँटीको क्यान्सर उपचार गराउँदै आएकी बिर्तामोडकी टिकादेवी पकुवाललाई पाँच लाख, आन्द्राको क्यान्सर भएका कन्काईका भानुभक्त कटुवाललाई चार लाख, आन्द्राकै क्यान्सर लागेका अर्जुनधाराका दाताराम भण्डारीलाई पाँच लाख र स्तन क्यान्सर भएर दुबईमा उपचार गराइरहेकी बिर्तामोडकी सावित्रा कँडेललाई दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

सहकारीले कार्यालयमा उपस्थित हुन नसकेका बिरामीको उपचार सहयोग रकम उनीहरुका आफन्तलार्इ हस्तान्तरण गरेको छ ।

सहयोग पाएका बिरामी तथा तिनका आफन्तले संस्थाको यस्तो कार्य सह्रानीय भएको बताए ।

‘सहाराले यस्तो नीति बनाएर सहयोग गरेकोमा हामी हर्षित छौँ,’ आन्द्रामा क्यान्सर भएका बिरामी दाताराम भण्डारीले भने ।

सहकारी संस्थाले वि.सं. २०८० सम्ममा सबै स्वास्थ्य सेवा निःशुल्क गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप हाल साना रोगका बिरामीलाई ८० प्रतिशतसम्म खर्च बेहोर्दै आएको र क्यान्सर, मटु, मिर्गौलाजस्ता गम्भीर प्रकृतिका बिरामी सदस्यलाई विशेष सहयोग प्रदान गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए ।

‘हुन त सरकारले पनि कतिपय रोगलाई निःशुल्क गरेको छ, सरकारले सबै रोगलाई निःशुल्क गर्न पनि नसक्ला,’ गिरीले भने, ‘विपन्न वर्गका शेयर सदस्यका लागि हाम्रो जीवन बरदान कार्यक्रमले सहयोग पुर्‍याउँछ, हामीले सरकारलाई पनि सहयोग पुगोस् भनेर यो नीति बनाएका हौँ ।’

क्यान्सर रोगी शेयर सदस्यको उपचारको बिल हेरेर सकेको सहयोग उपलब्ध गराइएको बताउँदै गिरीले निकट भविष्यमा शतप्रतिशत सहयोग गर्ने लक्ष्य रहेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *