Sajhamanch Archive

सतासी बहुउद्देश्यीय सहकारीद्वारा क्यान्सर स्वास्थ्य सचेतना शिविर सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाको छातीको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना शिविर सम्पन्न गरेको छ ।

संस्थामा आबद्ध महिला सदस्यहरुलाई प्राथमिकतामा राखेर संस्थाले आफ्नै मुख्य कार्यालयमा आज सोमबार सो कार्यक्रम आयोजना गरेको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित शिविरमा क्यान्सर सम्बन्धी जानकारी दिइएको छ । क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवले क्यान्सर के हो ? क्यान्सर कसरी हुन्छ ? यस सम्बन्धीे जनमानसमा कस्तो धारणा छ ? क्यान्सरको उपचार हुन्छ कि हुँदैन ? समयमै आफैंले यो रोगको कसरी पहिचान गर्न सकिन्छ ? जस्ता विषयमा सहजीकरण गरेका थिए ।

पाठेघरको समस्या भन्नै पनि लाज मान्ने, अप्ठ्यारो मान्ने र समस्यालाई लुकाउने प्रवृत्ति अझै पनि हाम्रो समाजमा पाइन्छ भन्दै डा.यादवले रोगले मृत्यु हुनेमा दोस्रो कारण क्यान्सर भएको स्पष्ट पारे । क्यान्सर भन्ने बित्तिकै डराउन पर्ने र आत्तिई हाल्नुपर्ने भने हुँदैन,समयमै यसको उपचार गरेमा यो रोग निको हुन सक्ने उनले बताए ।

छातीको क्यान्सर हुने कारणहरुमा वंशाणुगत, ढिलो विवाह गर्नु, धुम्रपान सेवन आदि हुन् भन्दै डा. यादवले पाठेघरको क्यान्सर हुनुको मुख्य कारणमा महिनावारीको समयमा सेनिटरी प्याडको प्रयोग नगरेर कपडाको प्रयोग गर्नाले पनि यो रोग लागेको उनले बताए । यस्तो रोगबाट बच्न समय–समयमा स्वास्थ्य परीक्षण गराई रहने, कुनै समस्या देखापरे अस्पताल गएर परीक्षण गराउने जसले गर्दा रोगलाई समयमै उपचार गर्न सकिन्छ डा. यादवले सल्लाह दिए ।

संस्थाको अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले क्यान्सरजस्तो घातक रोगको शिकार भएर हिंडिरहेका आफ्ना सदस्य एवम समुदायका मानिसहरुलाई जागरुक बनाउन सतासीले यो कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सञ्चालक समितिका सदस्य तथा महिला उपसमिति संयोजक शर्मिला अधिकारीले शब्दद्वारा स्वागत गरेकी थिइन् । संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *