झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि अभ्यास
Published:
by .सुरुङ्गा । झापाको सुरुङ्गमा विपत व्यवस्थापन सम्बन्धि बृहत अभ्यास गरिएको छ । झापा बाढीको उच्च जोखिम भएका क्षेत्रहरुलाई मध्यनजर राख्दै सरोकारवाला निकाय र सुरक्षा कर्मीहरुको सहभागीतामा विपत व्यवस्थापन सम्बन्धि अभ्यास गरिएको हो ।
कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी र प्रशासनिक निकायका अधिकृतहरूको प्रत्यक्ष संलग्नता थियो । अभ्यासका क्रममा सुरक्षाकर्मी र रेडक्रस टोलीले बाढी आएपछिको उद्धार, स्वास्थ्योपचार र राहत वितरणसम्मको नमुना कार्यक्रम प्रदर्शन गरेको थियो ।
विपद् व्यवस्थापन समितिको बैठक बसेर सुरक्षाकर्मी परिचालन गरेको, बाढी पीडितले ‘बचाओ, बचाओ’ भन्दै चिच्याएको र गाउँलेले बाढी गाउँमा पसेर जनधन जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा फोनमार्फत जानकारी दिएको विषयमा सो अवसरमा अभ्यास गरिएको थियो ।
विपद्को परिस्थिति निम्तिएको बेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र रेडक्रसकर्मीले कसरी काम गर्नुपर्छ भनेर अभ्यासको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । सुरक्षाकर्मीहरूले बाढीका कारण डुबेको गाउँ र ज्यान जोखिममा परेका गाउँलेको अवस्था मात्र नभएर आपत्कालीन परिस्थतिमा गाडीका ट्युब, बासका चाङ, केराका थाम र प्लास्टिकका बोतलको सहारामा गरिने उद्धार कार्यको दुरुस्त अभ्यास गरेका थिए ।
झापामा कनकाई, विरिङ, रतुवा, मेची, निन्दा, कमललगायत नदीमा आउने बाढीबाट वर्षेनी ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । ठूला तथा साना नदीहरूबाट आउने बाढीबाट पीडितलाई बचाउन अभ्यासले सरोकारवालाहरूलाई ऊर्जा र मनोबल बढाउने शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताए । उनले अनुसार झापामा बाढीबाट मानवीय तथा भौतिक क्षति बढी हुने पालिकामा शिवसताक्षी पर्ने जनाउँदै विपद् व्यवस्थापनमा पालिकाले पर्याप्त बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा स्थानीय पालिकाहरूको तयारी सन्तोषजनक नभएको गुनासो गर्दै उद्धार र राहतका लागि पालिकाहरूले कञ्जुस्याइँ गर्न नहुने धारणा राखेका थिए ।
Comments