Sajhamanch Archive

अमेरिका र चीनको सैन्य जहाज आमनेसामनेः चीनको चेतावनीपछि फर्कियो अमेरिकी डिस्ट्रोयर

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

सिएनएन । एक अमेरिकी सैन्य जहाज र चिनियाँ युद्धपोत आमने सामने भएका छन् ।

विवादीत साउथ चाइना सी नजिकै रहेको स्प्राटली टापु नजिकै अमेरिकी सैन्य जहाजले अनुगमन गरिरहेको बेला दुई जहाज आमने सामने भएका हुन् ।

अमेरिकी अधिकारीहरुका अनुसार दुई जहाज यति नजिक आएका थिए, उनीहरु ठोक्किनबाट बचाउन अमेरिकी जहाज त्यहाँबाट फर्काउनसमेत परेको थियो ।

अमेरिकी प्रशान्त क्षेत्रमा तैनाथ अमेरिकी जलसेनाका प्रवक्ता क्यापटेन चाल्र्स ब्राउनले घटनाको पुष्टि गर्दै भने, ‘चीनको लुयाङ युद्धपोत साउथ चाइना सीको गाभेन रिफमा अमेरिकी डिकेटर सामु असुरक्षित र अव्यावसायिक तरिकाले सामुन्ने आयो ।’

ब्राउनका अनुसार अमेरिकी जहाजलाई फर्किन चेतावनीसहित चिनियाँ युद्धपोत आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

चिनियाँ युद्धपोत अमेरिकी सैन्य जहाजको ४५ यार्ड नजिकसम्म आएको दाबी गर्दै ठोक्किनबाट जोगाउन अमेरिकी जहाज फर्काउन परेको बताए ।

‘अन्तर्राष्ट्रिय कानुन अनुरुप हाम्रो सेना उक्त स्थानमा उडान, जलयात्रा र नियमत कार्य सञ्चालन गरिरहनेछ,’ उनले भने ।

व्यापारदेखि विभिन्न विषयमा अमेरिका र चीनबीच तनाव बढिरहेको बेला यो घटना बाहिर आएको हो । यसअघि पनि अमेरिकी र चिनियाँ सैन्य जहाज आमनेसामने भए पनि ती घटना ‘सुरक्षित’ मानिन्थ्यो ।

सिएनएनका अनुसार फ्रिडम अफ न्याभिगेसन अपरेसन अन्तर्गत अमेरिकी सैन्य जहाज ‘युएसएस डिकेटर’ गाभेन र जोनसन रिफमा पुगेको थियो ।

अमेरिकाले विश्वभर यस्ता अपरेसनहरु चलाउने गरेको छ । तर, साउथ चाइना सीमा भने चीनले अमेरिकी अपरेसनको प्रतिवाद गर्दै आएको छ ।

‘अमेरिकाले साउथ चाइना सी निकटस्त पानी र टापुमा सैन्य जहाज पठाउने गरेको छ यसले चीनको सम्प्रभूता र सुरक्षालाई गम्भिर चुनौती दिएको छ,’ मंगलबार चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु कियानले भने ।
‘चिनियाँ सैनिकले आफ्नो रक्षात्मक कर्तव्य पालना गर्नेछ र चीन सम्प्रभूता र उक्त क्षेत्रको शान्ति र स्थायित्वको लागि सबै उपाय अपनाउनेछ,’ वुले भने ।

दुई देशबीच तनाव बढेपछि अमेरिकी सेक्रेटरी अफ डिफेन्स जेम्स माटिसले अक्टोबरमा गर्ने भनिएको चीन भ्रमण यसअघि नै रद्द भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *