मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण घोषणा
Published:
by .काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो ।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगिताको अहिले दोस्रो संस्करण आयोजना हुन लागेको हो । १६ देखि २१ वर्षसम्मका युवायुवतीले भाग लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आवद्ध हुन चाहनेका लागि अवसर पनि हो ।
एसईई तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगिताका विजेताले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिस कलेजमा रु २० लाख रुपैयाँसम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरू समेत प्राप्त गर्नेछन् ।
त्यस्तै फर्स्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु.१५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो बर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन् । निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट बताइएको छ । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापाथलीमा आयोजना हुनेछ ।
Comments