Sajhamanch Archive

विराटनगरमा बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि खुल्यो कोभिड अस्पताल

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरमा पून कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि प्रदेश १ सरकार मातहत रहेको कोसी कोभिड अस्पताल पनि सुचारु गरिएको छ । कोसी कोभिड अस्पताल गत चैत १५ यता कोरोना संक्रमित नभएपछि बन्द भएको थियो ।

कोसी अस्पताल विराटनगरका फिजिशियन डाक्टर डेनप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना गर्नुपर्ने विरामी आउन थालेपछि बिहीबारबाट कोसी कोभिड अस्पतालमा भर्ना लिन थालिएको हो ।

बिहीबारबाट खुला गरिएको कोसी कोभिड अस्पतालमा शुक्रबार भर्ना हुनेको संख्या १७ पुगेको छ । शुक्रबार कोरोना जाँच गर्दा एन्टीजेन पोजेटिभ देखिएका १६ जना कैदीबन्दीलाई पनि कोसी कोभिडमा भर्ना गरिएको छ । अत्याधिक ज्वरो आएपछि करागारले १९ जना कैदीबन्न्दीलाई बिहीबार अस्पताल भर्ना गरेको थियो ।

अस्पताल भर्ना गरिएका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको थियो । उपचाररत १८ मध्ये १६ जनालाई शुक्रबार एण्टिजेन पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका कैदीबन्दीलाई कोसी कोभिड अस्पताल सिफ्ट गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

उनका अनुसार कारागारमा रहेका अन्य कैदीबन्दीमा पनि कोरोनाको लक्षण देखिएको छ । लक्षण देखिएपछि कैदीबन्दीको कोरोना जाँच गर्न निर्देशन दिइएको उनले बताए ।

कोसी कोभिड अस्पतालका फोकल पर्सन अनुपम राजवंशीका गत चैत १५ गतेबाट कोसी कोभिड अस्पताल खाली थियो । साढे तीन महिनापछि अस्पतालमा कोरोनाका विरामी आएको उनले बताए । ‘ चैत १५ गते डिस्चार्ज भएपछि कोरोना बेड खाली थियो,’ उनले भने,‘ हिजो एक जना संक्रमित आउनु भयो, आज १६ जना संक्रमित थपिएका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *