Sajhamanch Archive

विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by .

काठमाडौ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उदेश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस आज (बिहीबार) मनाइँदै छ ।

प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानका रूपमा मनाइने दिवसको यसवर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगविरुद्ध लड्न विश्वभरका मानिसलाई एकजुट बनाउनु दिवसको उदेश्य हो ।

हेपाटाइटिसलाई खतरनाक स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ । हेपाटाइटिस अहिले पनि उत्तिकै विकराल र खतरनाक स्वास्थ्य समस्याका रूपमा रहेको छ । संसारका ठूलो सङ्ख्याका मानिसहरु हेपाटाइटिस ‘बी’ र ‘सी’बाट ग्रसित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ ।

यो रोगका बारेमा धेरै मानिसहरु अनभिज्ञ छन् । विश्वमा हेपाटाइटिस लागेका ८० प्रतिशत मानिस यो समस्याका बारेमा जानकार नभएको विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ ।

रोगबारेको अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भन्ने मान्यता स्वरूप जनचेतना जगाउने अभियानअन्तर्गत हेपाटाइटिसविरुद्धको दिवस मनाउन थालिएको हो । हेपाटाइटिसलाई एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै विकराल रोगका रूपमा लिइन्छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण विश्वमा बर्सेनि १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ । यो रोग लागेकालाई चाँडै कलेजोको क्यान्सरसमेत हुन्छ । कलेजोको क्यान्सरले मृत्यु हुने तीन जनामध्ये दुई जनामा हेपाटाइटिसको समस्या रहने गरेको अध्ययनले देखाएको छ ।

हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’ ‘डी’ र ‘इ’ गरेर पाँच प्रकारको हुन्छ । पाँच किसिमका हेपाटाइटिस घातक र मृत्युको काल सरह मानिन्छन् । विश्वकै खतरनाक रोगमध्येको हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारीसमेत मान्ने गरिन्छ । यसबाट बालबालिका र सीमान्तकृत समूह सबैभन्दा धेरै पीडित बन्ने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *