Sajhamanch Archive

कार्यकर्तालाई चुनावको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

कमल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई आज बिहीबार सम्बोधन गर्दै उनले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

झापाको क्षेत्र–५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रुपमा हेरिएको स्मरण गराउँदै एमाले अध्यक्ष ओलीले यी स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकिएन भनेर निर्मम समीक्षा गर्न पनि निर्देशन दिए । समीक्षाबाट निराश नभई आगामी निर्वाचनमा सहज जीतको परिणाम ल्याउन कार्ययोजनासहित अघि बढ्न उनले सुझाए ।

एमाले सरकारमा नहुँदा के–के हुँदो रहेछ भन्ने कुरा गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको दर्शाउँदै अध्यक्ष ओलीले भने, ‘देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गर्ने’ भइरहेको छ । यो सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट छ ।

‘एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरु अहिले वाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद कुरा हो’ उनको टिप्पणी थियो । पाँचजना मान्छे मिल्दैमा बाम एकता नहुने भन्दै उनले एमालेलाई तर्साउन यस्ता प्रयास नगर्न समेत चेतावनी दिए ।

तीन दिने झापा बसाईका क्रममा एमाले अध्यक्ष ओली कार्यकर्ताहरुसँग सघन भेटघाटगरिरहेका छन् । यो अवधिमा उनले ठूला र सार्वजनिक कार्यक्रम राखेका छैनन् । कार्यकर्तासँगको सघन छलफल, भेटघाट र अन्तरक्रियाका लागि उनी झापा आएका जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *