Sajhamanch Archive

जग्गा वर्गीकरण नहुन्जेल कर वृद्धि नगर्ने विर्तामोड नगरपालिकाको निर्णय

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिनाभित्र वर्गीकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नुपर्ने भएकाले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाको आगामी ५ महिनाभित्र वर्गीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पति कर तथा भूमिकरसम्बन्धी आर्थिक ऐन २०७९ निर्माण गरी कर संकलन सुरु गरेको थियो ।

बढेको कर बुझाईसकेकाहरुको हकमा भने आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाब मिलान गर्ने प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले करको विषयमा विज्ञहरुसंग समन्वय गरी कार्यपालिकामा व्यापक छलफल गरेर निर्णयमा पुगेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *