Sajhamanch Archive

सडक दुर्घटनामा परी दुबईमा घाइते भएकी थापालाई मेडिकल सञ्चालक दुर्गाप्रसाई गरे उद्धार

Published: in विविधा, समाज by .

विर्तामोड । झापा विर्तामोडका विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन् ।

प्रसाईले रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन्। रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे अवस्थामा रहेका नेपालीहरूका शवलाई नेपाल ल्याएर धन्यवादका पात्र बनेका प्रसाईले अलपत्र अवस्थामा पुगेका नेपाली चेलीको पनि उद्धार गरेर पीडित परिवारलाई ठुलो सहयोग गरेका छन् ।

थापामगरलाई दुबईको सडकमा स्कुल बसले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी थापामगरको खुट्टा चल्दैनन् भने कम्मरमा पनि पाँच सात ठाउँ भाँचिएको छ । दुर्घटनापछि अत्यधिक रक्तश्राप र छातीसमेत खराबी भई अस्पताल भर्ना भएकी थापामगर रकम अभावकै कारण उपचार र उद्धारको पर्खाइमा रहेकी थिइन ।

दुबईको एनएमसी रोयल अस्पतालको आइसियुमा अलपत्र अवस्थामा रहेकी थापामगरको उद्धारका लागि त्यहाँ रहेका नेपालीहरूले नेपाली दूतावाससँग पटक–पटक आग्रह गरे पनि सुनुवाई नभएपछि प्रसाईँलाई गुहारेका थिए ।

दुर्घटनामा घाइते भएकी थापामगरको दुबईमा कोही आफन्त पनि नभएको र उपचार पाउनका लागि बीमा पनि नभए पछि थप समस्या भइरहेको थियो । दुर्घटनापछि दुबई प्रहरीले कुनै उजुरी लिन नमान्नु र काम गर्ने कम्पनीले पनि वास्ता नगरेपछि यी चेली अस्पतालमा अलपत्र अवस्थामा रहेकी थिइन । अस्पतालबाट निकाल्न र नेपाल ल्याउन पनि ठुलो खर्च लाग्ने भएपछि थापा अस्पतालमै अलपत्र अवस्थामा थिइन ।

दुबईमा रहेका नेपालीहरू भीम मल्ल र कमल जिसी लगायतले कतैबाट सहयोग नपाएपछि दुर्गा प्रसाईँलाई समस्याबारे जानकारी गराएपछि उद्दार गरिएको प्रसाईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *