Sajhamanch Archive

इप्रका काँकरभिट्टामा विकृति रोक्न अन्तरसम्वाद

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । चाडपर्वका नाममा हुने विकृति विसंगति अन्त्यका लागि मेचीनगरका सबै राजनीतिक दल, संघ–संस्थाहरु, उद्योगी व्यावसायीहरु एक ठाउँमा उभिने भएका छन् ।

नजिकिँदै गरेका मुख्य चाडपर्वलाई लक्षित गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शनिबार आयोजना गरेको छलफलमा सहभागी सबैले चाडपर्वलाई मर्यादित र व्यवस्थित गरी एक आपसमा खुशी साटासाट गरी मनाउनु पर्नेमा जोड दिएका हुन् ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती र वडानम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङको उपस्थितिमा इलाका प्रहरी कार्यालय परिसरमा सर्वपक्षीय छलफल भएको हो ।

अन्य समयको तुलनामा चाडपर्वमा आपराधिक गतिविधी बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा नगरबासीको पूर्ण सहयोग आवश्यक पर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले आग्रह गरे ।

प्रहरी नायव उपरीक्षक थापाले चाडपर्वमा गरगहना लगाएर राति अबेरसम्म एक्लै घर बाहिर नहिंड्न, आफ्नो गाउँठाउँमा कुनै शंकास्पद र अपरिचत मानिसहरु देखे गोप्यरुपमा प्रहरीलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

छलफलमा जुवातास, डाइसलगायत खेल्न निषेध गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गरी समाजलाई आतंकित गर्नेलाई कानूनी कारवाही गर्ने, राति ९ बजेपछि समूह बनाएर हिंड्न रोक लगाउने तथा सवारी साधनमा हुने पकेटमारी तथा विभिन्न औषधि खुवाएर बेहोस बनाई लुट्ने गतिविधी निगरानीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने विश्वास दिलाइएको छ ।

छलफलमा सहभागीहरुले नगरमा भारतीय नम्बर प्लेटका सवारी साधनको अव्यवस्थित पार्किङ, भारतीय रुपैयाँको सटहीका बारेमा गम्भीररुपमा कुरा उठाएका थिए ।

सहभागीले नगरमा हुने जस्तोसुकै विकृति तथा विसंगति अन्त्य गर्न र चाडपर्वका नाममा हुने आपराधिक क्रियाकलाप रोक्न आ–आफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *