कम्तिमा सय सिट नलिए कांग्रेसमा विद्रोह हुन्छ: कोइराला
Published:
by .काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धनभित्र नेपाली कांग्रेसले कम्तिमा एक सय सिट पाउनुपर्ने बताएका छन्।
१ सय ९ औं विपी जयन्तीका अवसरमा धनुषामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले प्रतिनिधिसभातर्फ एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने बताए।
नेपाली कांग्रेसको एकल बहुमत ल्याउने र पाँच वर्ष स्थायी सरकार दिने गरी गठबन्धन गर्ने भनेर केन्द्रीय समितिले निर्णय गरेकाले बहुमत ल्याउन पनि एक सय सिट पाउनैपर्ने कोइरालाको भनाइ छ।
‘हामीले कम्तिमा एक सय सिट लिनुपर्यो, नत्र कहाँबाट बहुमत हुन्छरु तर उहाँहरु सय सिट दिने पक्षमा हुनुहुन्न।’ उनले भने, ‘कांग्रेस ठूलो र पुरानो पार्टी भएकाले १६५ सिटमै उठ्दा पनि आकांक्षी व्यवस्थापन गर्न गाह्रो छ। यसले आन्तरिक विद्रोह हुनसक्ने खतरा छ।’
उनले अहिलेको गठबन्धनलाई विचित्रको संज्ञा दिए।
‘यो विचित्रको गठबन्धन छ, गठबन्धनमा भएका अरु चारवटै दलसँग हाम्रो न बिचार मिल्छ न सिद्धान्त’, कोइरालाले भने, ‘तर पवित्र हो कि अपवित्र भन्नेचाहिँ निर्वाचनपछि मात्रै थाहा हुन्छ।’
विचार र सिद्धान्त नमिले पनि एमालेले संविधान मिचेर संसद विघटन गरेकाले एमालेलाई परास्त गर्नका लागि मात्रै गठबन्धन गरिएको उनको तर्क छ।
अर्को प्रसङ्गमा उनले वैदेशिक नीति कांग्रेस र अरु दलको फरक रहेकाले न्यूनतम समझदारी गरेर अघि बढ्नुपर्ने बताए। उनले सरकारले ल्याएको टिआरसी विधेयक र मिडिया काउन्सिल विधेयकको पनि आलोचना गरे।
‘द्वन्द्वकालीन घटनाका जघन्य अपराधमा माफी दिने र पीडितले पुनरावेदन पनि गर्न नपाउने गरी विधेयक ल्याइयो, हामी कस्तो समाज बनाउन खोज्दैछौँरु यो गम्भीर विषय हो’, कोइरालाले भने, ‘अर्को मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ, प्रेस स्वतन्त्रता बिना हामी अगाडि बढ्न सक्दैनौ। प्रेसलाई नियन्त्रण गर्ने कुरा गलत छ।’
Comments