Sajhamanch Archive

तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने विर्तामोड नगरपालिकाको चेतावनी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

बिर्तामोड । निर्माणमा लापरबाही गर्ने कम्पनी विरुद्ध बिर्तामोड नगरपालिका एक्सनमा उत्रिएको छ । नगरले पहिलो पटक नगर अस्पतालको भवन निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काट्दै एक्सनमा उत्रिएको हो ।

अस्पतालको भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा।लिलाई सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरि कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।

नगर अस्पतालको भवन २०७९ साल असार १ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तोकिएको समयभित्र काम सम्पन्न गर्न पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्य प्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए । उनले ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण समयमा काम सम्पन्न नभएको बताएका छन् ।

भवनमा प्लोरिङ्ग, इलेक्ट्रीसिटि,झ्याल ढोका, रङ्ग रोङ्गन, प्लम्बिङ्ग लगायतको काम बाँकी रहेको नगरपालिकाका इन्जिनिर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रा।लिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैँयामा ठेक्का सम्झौता गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *