Sajhamanch Archive

झापाका तीन पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत

Published: in विविधा, समाज by .

विर्तामोड । झापाका तीन पत्रकार प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका छन् ।

बरिष्ठ पत्रकार माधव विद्रोही सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नगद एक लाख १० हजार सहित राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट बिद्रोही सम्मानित भएका हुन । यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियार प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकार मायामितु न्यौपाने प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । उनी साहित्य पोष्ट अनलाइन र रेडियो भिजनमा कार्यरत छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा विहीवार आयोजित प्रेस काउन्सिलको ५३औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा परियार र न्यौपाने राष्ट्रपति भण्डारीबाट पुरस्कृत भएका हुन् ।

प्रेस काउन्सिलले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार हरिबहादुर थापालाई सम्मान गरेको छ । काउन्सिलले महिला सशक्तिकरण, सशक्त लेखन, आचारसंहिता पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार, युवा पत्रकारिता पुरस्कार, समावेशी पत्रकारिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, विधागत पत्रकारिता पुरस्कारबाट देशभरका पत्रकारहरुलाई पुरस्कृत गरेको हो । काउन्सिलले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको छ भने काउन्सिलका पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *